व्यावसायिक फूल खेतीमा घलानको मोह

  • Thursday June 20, 2019
  • 559 Views
radionrn

हेटौँडा, असार ५ गते । जनप्रतिनिधि हुनुको पदीय जिम्मेवारी अनुसार वडा र उपमहानगरपालिकाका बैठक, योजना छनोट, कार्यान्वयन, सिफारिस गरिदिनुपर्ने फाइलका चाङको चटारो त छ नै अझ यतिबेला उहाँलाई अर्को चटारो थपिएको छ । त्यो हो खेतमा फूलेका ढकमक्क सयपत्री फूल टिपेर माला बनाएर हेटौँडाका विभिन्न सभा समारोहमा पु¥याउनु । हेटौँडा र वरपर हुने विभिन्न सभा समारोहमा फूलको माला चाहिए आयोजकले उहाँलाई नै सम्पर्क गर्छन् ।

यस्तो चटारोलाई सफल रूपमा व्यवस्थापन गरिरहनु भएको छ हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलानले व्यावसायिक फूल खेतीप्रतिका उहाँको मोह धेरैका लागि उदाहरणीय पनि बनेको छ ।  वडा अध्यक्ष घलान वडाको दैनिक कार्यसम्पादन गर्नुका साथै बिहान बेलुकाको समय सयपत्री फूल टिप्ने र माला बनाएर बिक्री गर्ने कार्यमा खटिनुहुन्छ । गत वर्ष असोज–कात्तिकमा फूल खेतीबाट भएको आम्दानीसँगै चिनेजानेका र साथीभाइले गरेको प्रोत्साहनले घलानलाई फूल खेती गर्न हौसला मिलेको बताउनुहुन्छ ।

बारीमा सयपत्री फूल फुलेर ढक्कमक्क हुन थालेपछि उहाँको पनि खुसीको सीमा छैन । फूल बिक्रीबाट हुने आम्दानीले निकै सन्तुष्ट भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, गत असोजमा आठ कट्ठा जग्गामा करिब चार हजार रुपियाँ खर्चेर सुरु गर्नु गरेको फूल खेतीबाट करिब पाँच लाख रुपियाँ आम्दानी भएपछि यो खेतीप्रति मोह नै बस्यो । यो वर्ष खेती विस्तार गरेको छु ।
यस वर्ष उहाँले १० कट्ठामा खेती विस्तार गरेको बताउनुभयो ।

गत चैतमा मल्चिङ गरेर सयपत्री फूलको बिरुवा रोपेका अध्यक्ष घलानको बारीमा यस वर्ष बेमौसमी सयपत्री फूल तयार भएको छ ।
बैमौसमी फूलको माला बजारमा ८० देखि एक सय रुपियाँमा बिक्री हुने गरेको घलान बताउनुहुन्छ । उहाँको यो व्यवसायले घरपरिवारका सबै सदस्यलाई रोजगार मिलेको बताउनुहुन्छ । उहाँको फूल खेती हेर्न नेतादेखि सामान्य नागरिक दैनिक जसो पुगेका हुन्छन् ।
सयपत्री फूल दशैँ तिहारमा मात्रै नभई सबै प्रकारका धार्मिक सामाजिक कार्यमा प्रयोग हुने भएकाले बजारको कुनै समस्या नभएको घलानको भनाइ छ । यस्तो खेती अरूका लागि पनि उदाहरणीय बनेको उहाँ बताउनुहुन्छ ।

Recent Comments

    Avatar

    Next Story