रेशम चौधरीलाई साङ्लोः मानवअधिकारको गम्भीर उल्लंघन

  • Saturday June 22, 2019
  • 1261 Views
Radin NRN

काठमाडौँ – उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको नेल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हटाइएको छ ।

बिहीबार अस्पताल भर्ना भएका रेशमलाई सुरक्षाको कारण देखाउदै कारागार व्यवस्थापन विभागको निर्देशनमा प्रहरीले शैयामै फलामे नेल र हत्कडीले बाँधेर राखेको थियो । आज दिउँसो माथिको आदेश भन्दै नेल हटाइएको रेशमका भाइ मिथुलाल चौधरीले जानकारी दिनुभयो ।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा रेशमलाई नेलले बाँधिएको तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले चासो व्यक्त गर्नुभएको हो । उहाँले नेलले बाँधेर राख्न आदेश दिनेलार्य कारबाही गर्न समेत निर्देशन दिनुभएको छ ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन मार्फत चौधरीलाई सिक्रीले बाँध्न आदेश दिनेलाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।

गम्भीर बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएका व्यक्तिालाई साङ्लोले बाँधेर राखेको घटनापछि अहिले नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागको चर्काे आलोचना भइरहेको छ । यसबारे नेपाल प्रहरीले भने कारागार व्यवस्थापन विभागलाई दोष थुपारेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले कारागार व्यवस्थापन विभाग अन्तगर्तको प्रहरीको छुट्टै शाखा हुने भएकोले रेशम चौधरीलाई साङ्लोले बाँधेको घटनामा आफूहरुको कुनै सरोकार नहुने प्रतिक्रिया दिनुभयो ।

यसबारे बुझ्न खोज्दा कारागार व्यवस्थापन विभागका अधिकारीहरु भने सम्पर्कमा आउन चाहेनन् । प्रधानमन्त्रीले कारबाहीको निर्देशन दिएपछि अताल्लिएका उनीहरुले घटनाबारे कुनै प्रतिक्रिया दिन मानेनन् । यता राष्ट्रिय मानव अधिकार आयोगको टोलीले वीर अस्पतालमा उपचाररत रेशमलाई नेलले बाँधिएको घटनाबारे स्थलगत अनुगमन गरेको छ ।

आज दिउँसो आयोगको टोलीले अस्पताल पुगेर त्यसबारे जानकारी लिएको प्रवक्ता बेदप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले उपचारमा रहेका कुनै पनि व्यक्तिलाई शारीरिक नथा मानसिक उपचार समेत चाहिने भए पनि झनै मानसिक पीडा दिने गरी नेलले बाँधेर राख्न नपाइने बताउनुभयो । प्रवक्ता भट्टराइले यो गम्भीर मानव अधिकार उलंघनको घटना रहेको बताउनुभयो ।

कतिपयले सांसदको सपथ खाइसकेका व्यक्तिलाई साङ्लोले बाँध्न नहुने प्रतिक्रिया दिइरहेका छन् । तर, मानव अधिकार आयोगका प्रवक्ता भट्टराईले भने मानव अधिकारको विषयले पदसँग सरोकार नराख्ने बताउनुभयो ।

उहाँले कुनै पनि व्यक्तिलाई अस्पतालमा नेलले बाँधेर राख्नु गम्भीर मानव अधिकार उल्लंघन ठहरिने बताउनुभयो ।

२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो । सो घटनापछि फरार रेशमले फरार रहेकै अवस्थामा टीकापुरमा प्रतिनिधिसभाको निर्वाचन अत्यधिक बहुमतका साथ जित्नुभएको थियो ।

चुनाव जितेको लामो समयपछि अदालतमा उपस्थित भएका चौधरीलाई थुनामै रहेको अवस्थामा सांसद पदको शपथ खुवाइएको थियो । तर कैलाली जिल्ला अदालतले टीकापुर हत्याकाण्डको घटनामा रेशमलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएपछि उहाँ कैद भुक्तान गरिरहनुभएको छ ।

Recent Comments

    Avatar

    Next Story