सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीयारहरुले खबरदारी आन्दोलन नत्याग्ने

  • Tuesday June 25, 2019
  • 949 Views
Radin NRN

काठमाडौँ – प्रतिपक्ष कांग्रेसप्रति आक्रोशित हुँदै सरकारले राष्ट्रियसभामा विचाराधीन रहेको गुठी विधेयक फिर्ता लिएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलको क्रममा रहेको विधेयक फिर्ता लिने सरकारी प्रस्तावलाई आज बसेको राष्ट्रियसभा बैठकले सर्वसहमतिले स्वीकृत गरेको हो ।

विधेयक फिर्ता लिन माग गर्दै उत्पकाका गुठीयार र विपक्षी कांग्रेसले सडक आन्दोलन चर्काएपछि सरकारले असार ३ गते विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।
घोषणाअनुसार आइतबार फिर्ता लिने औपचारिक प्रस्ताव संसदमा दर्ता गरेको थियो ।

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पेश गरेको विधेयक फिर्ताको पक्षमा कांग्रेस सांसदले मत दिएका थिए भने सत्तापक्षका सांसद मौन बसेका थिए ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सैनाले विधेयक फिर्ताको पक्षमा सत्ता पक्ष नबोलेपछि सर्वसहमतिले फिर्ता भएको घोषणा गर्नुभयो ।

वैशाख १७ गते दर्ता भएको विधेयकविरुद्ध सडक आन्दोचन चर्केपछि सरकार फिर्ता लिन बाध्य भएको हो । विधेयक फिर्ता लिने क्रममा मन्त्री पद्मा अर्यालले आक्रोश पोख्नुभयो ।

उहाँले विधेयकबारे प्रतिपक्षी कांग्रेसले नचाहिँदो हल्ला चलाएको आरोप लगाउँदै हल्ला चलाइएको जस्तो निजी गुठीमाथि विधेयकले प्रहार नगरेको, धार्मिक स्थलको संरक्षण गर्ने व्यवस्थालाई थप मजबुत बनाउन खोजेको बताउनुभयो । सरकारले आफ्ना धारणा राख्न मिल्ने परिस्थितिसमेत बन्न नदिइएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

यता विधेयक फिर्ता लिने सरकारको कार्यप्रति काठमाडौँका गुठीयारहरुले भने सकारात्मक प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिका संयोजक गणपपितलाल श्रेष्ठले विधेयक फिर्ता हुनु सकारात्मक पक्ष रहेको तर आफूहरुको खबरदारी भने जारी नै रहने बताउनुभयो ।

यसअघि गुठीयारहरुले विधेयक फिर्ता भन्दा पनि खारेजी नै आफूहरुको मुख्य माग रहेको बताउँदै आएका थिए । सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि त्यसको दोस्रो दिन उनीहरुले काठमाडौँमा विशाल खबरदारीसभा गरेका थिए ।

अब गुठी सम्बन्धी नयाँ कानुन बनाउन आफूहरुसँग छलफल, सहकार्य र सहमति गरेर मात्रै अघि बढ्न सरकारलाईल् दबाब दिने क्रम भने जारी नै रहने गुठीयारहरुको भनाई छ ।

Recent Comments

    Avatar

    Next Story