स्थानीय तहका लागि गरिएको विज्ञापनमाथि आज पनि सुनुवाई

  • Wednesday June 26, 2019
  • 858 Views
Radio NRN

स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई आज पनि हुँदैछ । गत आइतबार दिनभर बहस भएपनि रिट निवेदककै तर्फको बहस नसकिएकाले आजका लागि सारिएको थियो ।

पक्ष तर्फका अधिवक्ताको बहस सकिएपछि आजै सरकारी वकिलले जवाफी बहस गर्ने बताइएको छ । सो रिट सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा राखिएको छ । स्थानीय तहका विभिन्न पदमा लोक सेवा आयोगले गरेको विज्ञापन विरुद्ध सर्वोच्चमा ४ वटा रिट परेका छन् ।

यसैबीच स्थानीय तहका विभिन्न पदका लागि लोकसेवा आयोगले गरेको विज्ञापनमा साढे ३ लाख बढीको आवेदन परेको छ । आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार हिजो बेलुका ६ बजेसम्म ३ लाख ६७ हजार ६ सय ९७ जनाले आवेदन भरेका छन् ।

राती १२ बजेसम्म सिंगल दस्तुर तिरेर फारम भर्न आयोगले समय तोकेको थियो । आजबाट असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ । गत जेठ १५ गते आयोगले विभिन्न ५ सय १५ वटा स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा विज्ञापन गरेको थियो ।

Recent Comments

    Avatar

    Next Story