radio icon

Live Radio

प्रचण्डलाई कांग्रेस नेताको प्रश्नः ‘अमर लामाको हत्या किन?’

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६


काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसकेको भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ ।

सत्तामा रहेर पनि घटनाको छानबिन गर्न नसकिएको भन्दै प्रचण्डले दिएको अभिव्यक्तिमाथि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् ।
हुन त प्रचण्डले ‘सरकारमा रहेर पनि मदन भण्डारीका हत्यारा पत्ता लगाउन हामीलाई कसले रोकिरहेको छ ?’ भन्दै सोधेको प्रश्न पार्टीभित्रको पूर्व एमाले खेमाप्रति लक्षित रहेको बुझ्न कठिन थिएन । तर मदन भण्डारीको जन्मजयन्तीकै अवसरमा आयोजित कार्यक्रममा उहाँले ५८ सालको दरबार हत्याकाण्ड पनि छानबिन गर्न नसकिएको अभिव्यक्ति पनि दिनुभयो ।

मुलुकमा राजनीतिक हत्या फेरि दोहोरिन सक्ने संकेत गर्नुभएको प्रचण्डले सो कार्यक्रममा पटक पटक मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन नसकिएको भन्दै प्रश्न गर्नुभएको थियो ।

मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसकेको भन्दै पार्टीभित्रको पूर्व एमाले खेमालाई लक्षित गरेपनि यसबारे प्रतिप्रश्नहरु भने प्रचण्डतर्फ नै सोझिएका छन् । प्रचण्डको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आपत्ति जनाउनुभएको छ ।

उहाँले प्रचण्डसँग मदन भण्डारीका जिप चालक अमर लामाको हत्या गरिनुको कारण सोध्नुभएको छ । घटनाका एक मात्रै सबुत रहेका अमर लामाको हत्या गर्ने तत्कालीन माओवादी पार्टीका अध्यक्ष प्रचण्डले अहिले गैर जिम्मेबार अभिव्यक्ति दिन नमिल्ने उहाँको भनाई छ ।

प्रचण्डले हिजोको कार्यक्रममा तत्कालीन पार्टी महासचिवसमेत रहेका मदन भण्डारीको हत्या भएको प्रष्ट रूपमा थाहा हुँदाहुँदै पनि हत्या भएको किटान गर्न नसकेको र हत्यारा को हो भन्न नसकेको भन्दै पूर्वएमालेतिर औँला तेर्साउनुभउको थियो ।

उहाँले पनि चालक लामालाई बचाउन सकिएको भए मदन भण्डारीका हत्यारा ढिलो चाँडो पत्ता लाग्ने दाबी गर्नुभएको थियो ।

तर मदन भण्डारीको जिपका चालक अमर लामालाई तत्कालीन नेकपा माओवादीकै कार्यकर्ताले कीर्तिपुरमा गोली हानी हत्या गरेको पुष्टि यसअघि नै भइसकेको छ ।

मदन भण्डारी र दरबार हत्याकाण्डबारे अहिले राजनीतिक दलका शीर्ष नेताहरुले फरक फरक धारणा व्यक्त गरिरहेका छन् ।

कुनै बेला देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले यी हत्याकाण्डहरु मच्याएको आरोप लगाउने नेताहरु आफै सत्ताको बागडोर सम्हाल्न पुग्दा समेत घटनाबारे यथार्त बाहिर ल्याउन नसक्नु थप शंकास्पद विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार