radio icon

Live Radio

“म गर्भे कांग्रेसी” भनेर फुर्ति लगाउनेहरुलाई मेरो प्रश्न र सुझाव

  • radionrn
  • प्रकाशित मिति : शनिबार, चैत्र २३, २०७५


यदुराम सापकोटा ।  प्रधानमन्त्री केपी वलीले एउटा कार्यक्रममा कठैबरा कांग्रेस भनेको सन्दर्भलाई जोडेर एक जना प्रबुद्ध लेखक श्रीकृष्ण अनिरुध्द्र गौतमले चैत २२ गतेको कान्तिपुर दैनिकमा कठैबरा कांग्रेसको बास्तविकता उतारी दिएका छन् । कांग्रेसीहरुले पढ्दा मन अमिलो भएपनि लगभग अहिले कांग्रेसको वास्तबिकता उनले लेखेकै जस्तो छ । तर केपी वलीले भनेको कठैबरा भने धेरै फरक हो, उनले भनेको कठैबरा, प्रधानमन्त्रीको कुर्चीको मर्यादा बिपरीत आएको तुच्छ अभिब्यक्ती नै हो, त्यसैले केपी वलीसँग कांग्रेसीहरु झनक्क रिसाए ।

कान्तिपुरमा कठैबरा कांग्रेस लेख्दिने लेखकबाट भने, आम कांग्रेस र कांग्रेसीहरुले अब हाम्रो वास्तबिकता यही हो भनेर नबुझी सुख छैन ।
गएको २ हप्ता देखी कांग्रेसमा भएको गुटहरु र नेतृत्वको कमजोरीहरु अझै छर्लङ्ग पार्ने केही गतिबिधी सामाजिक सञ्जाल देखी मिडीयासम्म सबैले देख्न पाए । पार्टीले बल्ल बल्ल अनुशासन समिती बनाएको छ । अनुशासन समिती बनेको २ हप्ता नपुग्दै पार्टी कार्यालयमा अनुशासन उल्ङ्घनका उजुरीहरु चाङ लागेका छन् । अनुशासन समितीका उजुरीहरु प्रिन्ट गर्न पार्टी कार्यालयमा भ्याईनभ्याई छ । यसैक्रममा पार्टी सभापतीदेखी केही ठुला नेताहरुसम्मलाई उजुरी परेको छ । पार्टी सभापती माथी परेको उजुरीलाई लिएर केही कांग्रेसीहरु सभापतीको बचाउ गर्दै, सभापती बिरुध्द उजुरी गर्नु गलत भन्दै, उजुरीकर्ताको बिरुध्द खुल्ला रुपमा उत्रिए, उजुरीकर्तालाई धम्कीसम्म दिने खालका गतिबिधि देखिए, पार्टीको बिधानमा अहिलेसम्म २ प्रकारको सदस्यता छ, साधारण सदस्यता र क्रियाशिल सदस्यता ।

पार्टी सभापतीको क्रियाशिल सदस्यता र कार्यकर्ताको क्रियाशिल सदस्यतामा कुनै फरक हुदैन । पार्टीको बिधानमा अनुशासन उल्लङ्घन, बिधान बिपरित गरिएका काम कार्बाहीको बिरुध्द जो कोही सदस्यले पनि जो कोही बिरुध्द उजुरी दिन सक्ने प्राबधान छ र त्यही प्राबधान अनुरुप उजुरी दिदा एउटा पक्ष किन उजुरीकर्ताको बिरुध्दमा उत्रियो भन्ने विषय बढो सोचनिय बनेको छ । शेर बहादुर देउबा पदिय हिसाबमा पार्टीको सभापती हुन तर सदस्यताको हिसाबमा उनि पनि पार्टीको क्रियाशिल सदस्य हुन, पदमा रहेर के गर्न पाउने के गर्न नपाउने पार्टीको बिधानमा प्रष्ट छ, सभापतीको कुर्ची बिधान अनुसार चलेको छ छैन, पार्टी सभापतीको कुर्चीमा अनुशासन छ छैन त्यो हरेक कार्यकर्ताले प्रश्न गर्न पाउने अधिकार मैले बुझेको कांग्रेस पार्टीमा रहन्छ ।

अर्को प्रसङ्गमा, ५१ जिल्लाका सभापतिहरु केही दिन अगाडी काठमाडौमा भेला भए । महासमिती बैठकबाट भएको निर्णय बिपरित केन्द्रिय समितीले बिधान उल्टाएको भनि सच्याउन दबाब दिन जिल्ला सभापतिहरुको भेला भएको हो । नेपाली कांग्रेसमा बिधान बनाउने सर्बोच्च निकाय महासमिती बैठक हो । केन्द्रिय समितीलाई केही आकस्मिक बिषयमा बाधा अड्काउ फुकाउ गर्ने बाहेक बिधान नै उल्टाउने कुनै अधिकार हुदैन, तर बहुमतको बलमा केन्द्रिय समितीले महासमिती बैठकको निर्णय बिपरीत बिधान तोडमोड गर्यो । पार्टीको बिधानमा ४०५ महासमिती सदस्यहरुले हस्ताक्षर गरेर बिषेश महाधिवेशन गर्न आग्रह गरिएमा सभापतीले महाधिवेशन बोलाउनु पर्ने बाध्यात्मक व्यवस्था छ । केन्द्रिय समितीले बिधानमा गरेको तोडमोड नसच्याए, बिशेष महाधिवेशनको तयारी थाल्ने गरी जिल्ला सभापतीहरु भेला भएको बुझिएको छ । जिल्ला सभापतिहरुको भेलालाई लिएर पनि केही कांग्रेसीहरु यतीबेला बिरोधमा उत्रिएका छन । बिधानमा के छ, के हुनुपर्दथ्यो, के भयो ख्याल नै नगरी सभापती भन्या भगवान हुन र सभापती बिरुध्द बोल्न, कुरा उठाउन, प्रश्न गर्न पाईदैन भन्ने मानसिकता केही कांग्रेसीहरुमा उब्जिएको छ ।

यिनै प्रसँगमा मेरो पनि पार्टीका केही युवा भनिएका नेताहरुसँग भनाभन जस्तै भयो । एउटा दाईले, भाई तिमीले कांग्रेसको राजनिती गर्न थालेको कति भो मैले २७ बर्ष यो पार्टीमा सँघर्ष गरेको छु भन्नु भो, उहाँको उमेर ४६ बर्ष पुगेछ, लामो सँघर्षको कुरा सुनेपछी मैले उहाँलाई प्रतिप्रश्न गरे, दाई तपाई म भन्दा २० बर्ष ले जेठो, के अब मैले मेरो आमा बाबालाई मलाई किन ढिलो जन्माएको भनेर प्रश्न गर्ने त ?
मैले पार्टीको मुख्यसचिब बिरुध्द अनुशासन समितीमा उजुरी दिएको बिषयलाई लिएर एउटा आफुलाई जन्मजात कांग्रेसी भन्ने साथीले मुख्यसचिब बिरुध्द उजुरी हाल्न तेरो हैसियत के हो भन्यो, कांग्रेसको सदस्यता कैले लिएको हो भनेर प्रश्न पनि ग¥यो ।

पार्टीमा साधारण सदस्यता र क्रियाशिल सदस्यता मात्र प्राबधान छ, नेपालको कानुनले १८ बर्ष नपुगी पार्टीको सदस्यता दिन मिल्दैन भन्छ । तर कांग्रेस बा आमाको कोखबाट जन्मेकै कारण जन्मजात कांग्रेस, गर्भे कांग्रेस भनेर फुर्ती लगाएर हुन्छ ? कांग्रेसी बा आमाको सन्तान भएर जन्मिएकाहरुलाई पार्टीले कतै छुट्टै जन्मजात कांग्रेस र गर्भे कांग्रेसको सदस्यता दिएको छ ? अनि बा आमा कांग्रेस भएकै कारण कांग्रेस भएको कांग्रेसीको बुझाईमा कांग्रेस के हो ? गर्भमै कांग्रेस बुझेको कसैले हुदैन तर पार्टीको सदस्य हुने जुनसुकै पार्टीमा पनि १८ बर्ष पुगेपछी मात्रै हो । त्यसैले हरेक कांग्रेस क्रियाशील सदस्य र मेरो हैसियत एउटै हो, कसैको क्रियाशिल सदस्यता उमेरले बढी हुनुको नाताले पुरानो होला त्यती फरक हो । जन्मजातको फुर्ती लगाउने हो भने मेरा बाबा आमा मेरो जन्म हुनु भन्दा पहिलै कांग्रेस हुन, बा आमा मात्र हैन हजुर बा र हजुर आमा पनि कांग्रेस, यसको मतलब मेरा बाबा आमा नै जन्मजात कांग्रेस तर म चाँही यस्तो फुर्ती कहिलै लगाउदिन ।

म चाही १८ बर्ष पुगेपछी मात्र कांग्रेस, कांग्रेस बुझेर मात्र कांग्रेस, बिधि र बिधान पध्दती अनुसार चल्ने पार्टी हो कांग्रेस भनेर मात्र म कांग्रेस, बिधि बिधान अनुसार नचल्दा नेतृत्व बिरुध्द प्रश्न गर्न पाईन्छ भनेर नै म कांग्रेस, बिपी कोईरलाले देश र जनताका खातिर स्थापना गरेको पार्टी हो भन्ने थाहा पाएर मात्र म कांग्रेस । त्यसैले म आफुलाई जन्मजात कांग्रेस र गर्भे कांग्रेसको ट्याग लगाउन चाहान्न । कुरा बुझेर, उमेर पुगेर भएको काँग्रेसी हुँ म ।

सभापती शेर बहादुर देउबा बिरुध्द राजेन्द्र बजागाईले अनुशासन समितीमा उजुरी हालेको बिषयलाई मैले समर्थन गरेकै कारण फेरी केही नेता दाईहरु मँसग जिस्कन आईपुगे । बाउको बिरुध्द उजुरी हाल्न पाईन्छ ? बाउको बेईज्जत गर्दा छोराको बेईजत हुदैन ? जाबो क्यासिनो चलाएर बस्ने राजेन्द्र बजागाईले सभापती बिरुध्द उजुरी हाल्ने ? जाबो बिदेशमा भाँडा माझेर बस्नेले पार्टीको मुख्यसचिब बिरुध्द उजुरी हाल्ने ? मैले उत्तर दिनै पर्ने थियो र मैले यिनै प्रश्नको जवाफ यसरी दिए, “बाउ घरमा आमा छोरा छोरी कसैको वास्ता नगरी, बाहिर बाहिर हिड्लान, बेश्यालय तिर धाउलान्, घरको वास्ता नगर्लान, अरु महिलासँग बराल्लिएर हिड्लान, आफ्नै छोरा छोरीलाई तड्पाउलान अनि बाउको बेईजत हुनु छोराछोरीको पनि बेईजत हुनु हो भनेर चुप लागेर बस्ने ? नेपालको कानुन अनुसार सबै नागरिकहरुले आफ्नो काम, ब्यबसाय गर्न पाउछन ।

आज कानुन अनुसार क्यासीनो, रेस्टुरेन्ट चलाउनेलाई क्यासिनो चलाउनेले सभापतीलाई उजुरी दिने ? भनियो, बिदेशमा भाडा माझ्नेले मुख्यसचिब बिरुध्द उजुरी दिने ? भनियो भने भोली एउटा पुजाआजा गर्ने पुरेतले पार्टी सभापती या कुनै नेताका गतिबीधी अनुशासन बिपरीत देखेर उजुरी गर्ला, अनि जाबो टपरेले उजुरी दिने के हैसियत छ भन्लान, भोली बिनोद चौधरीले कुनै नेता बिरुध्द उजुरी देलान, अनि जाबो चाउचाउ बेच्नेले सभापती बिरुध्द उजुरी दिने ? भनिएला । कोही डान्स बार चलाउनेले उजुरी दिदा यसै भनिएला । हैन “पार्टीमा क्यासिनो चलाउने बिदेशमा भाडा माझ्ने, हलो जोत्ने, माछा मार्ने, डान्सबार चलाउने, सबै प्रकारका सदस्यहरु छन् कसैको ब्यबसाय र पेशा माथी प्रश्न गर्न पाईन्छ त ?

बिपी कोईरला, गणेशमान सिह, सुवर्ण समशेर, कृष्णप्रसाद भट्टराईहरुले देश र जनताका खातिर नेपाली भुमीमा स्थापना गरेको लेकतान्त्रिक पार्टीको बिकल्पमा आज ७ दशक पछाडी अर्को लोकतान्त्रिक शक्तीको सपना यही भुमीमा देख्न थालिएको छ । गिरीजा प्रसाद कोईरला जिबितै छँदा, मधेसबादी दलको नाममा हिजो कम्युनिस्ट पार्टीमा रहेर राजनिती गरेका र कांग्रेसमै रहेकाहरुले छुट्टै लोकतान्त्रिक शक्तीको सपना देखेर, आज आउदा मधेशी भन्ने शब्द हटाएर पार्टीको नाम राखनु पर्ने अवस्था कसरी आयो ? मधेश भनेर नाम जोडिएको, पार्टी राष्ट्रिय जनता पार्टी कसरी बन्यो, के सपना बोकेर यो पार्टी बन्यो ? आज आएर यही नेपाली भुमीमा साझा पार्टी, नयाँशक्ती पार्टी, बिबेकशिल पार्टी जस्ता लोकतान्त्रिक पार्टीहरुको जन्म भएको छ । हिजो कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेर आएका बाबुराम भट्टराई, अशोक राई, उपेन्द्र यादब लगायतले समेत यही भुमीमा लोकतान्त्रिक शक्ती विचारधारालाई आधार बनाउन थाल्नु उनीहरुमा आएको चानचुने परिवर्तन हैन । यसका पछाडी कांग्रेसले हामीमा पनि कमोजोरी छन् भन्ने स्विकार गर्नै पर्छ ।

कम्युनिष्टहरुको मत कांग्रेसको मत भन्दा १५ लाख बढी छ भन्ने हिसाब देखाउने काँग्रेसीले मधेशबादी दल, साझा, बिबेकशिल, नयाँशक्ती लगायतले पाएको १२ लाख चानचुन मत पनि कांग्रेसकै हो अर्थात् लोकतान्त्रिक शक्तीको हो भनेर देख्ने कि नाई ? पार्टीलाई लोकतान्त्रिक पध्दती, मुल्य मान्यता र हिजो बिपीले देखेको सपनाकै आधारमा चलाउन सके यो नेपाली भुमीमा रहेको सबै लोकतान्त्रिक मतदाताहरु कांग्रेसका मात्र मतदाता हुन सक्छन । अरु लोकतान्त्रिक शक्तीको सपना गर्भमै तुहाईदिन सकिन्छ भनेर अब कांग्रेसले सोच्ने बेला भएको छ । अझै यही नेपाली भुमीमा कांग्रेसको मत खानको लागि कम्युनिष्टहरुले कांग्रेसलाई अलोकतान्त्रिक र आफुहरुलाई लोकतान्त्रिक भनेर भ्रम फैलाउन थालिसके, कांग्रेसको कमजोरीले गर्दा जनताले कम्युनिष्टहरुको भ्रामक प्रचार पनि सत्य मान्न थालिसके । तर कांग्रेसीहरु गुटको भजन गाँउदैमा ठिक्क छ, पार्टी दिन प्रतिदिन खुम्चीएको चिन्ता कसले गरिदिने ? हाम्रा कमजोरीले हाम्रा मतदाता घट्दै गए, हामी खुम्चदै गयौ, हामी बरालियौ भनेर स्विकार गर्ने की अझै पनि गुटमा सिमित हुने ?

पार्टी बिधि, बिधान, पध्दती अनुसार नचल्ने हो भने, पार्टी नितिबाट नचलेर नेताबाट चल्ने हो भने कांग्रेसका आगामी दिन अझै कठिन छन् । कम्युनिष्टले जती सुकै नराम्रो गर्दा पनि, कांग्रेस आफैमा सच्चिन नसक्ने हो भने कांग्रेसले फेरीपनि गएको निर्वाचनमा जस्तै परिणाम भोग्नु पर्ने दिन आउन छ । हामी बिपी, गणेसमान, सुवर्ण र किसुनजीका अनुयायीहरुलाई, देउबा, पौडेल, सिटौला, कोईरला या कोही सकिदैमा फरक पर्दैन, तर कांग्रेस सकिनु हुदैन भन्ने मात्र चिन्ता हो । यो देशमा कांग्रेसको बिकल्प कम्युनिष्ट नहोस र कांग्रेसको बिकल्प अर्को लोकतान्त्रिक शक्ती खोज्नु नपरोस भन्ने मात्र हाम्रो चिन्ता र चाँसो हो । बरु लोकतान्त्रिक शक्तीको खोजी गरेकाहरुपनि कांग्रेसमै समेटिन आउने वातावरण कांग्रेसले सिर्जना गरोस् भन्ने हाम्रो चाहना हो । लोकतान्त्रिक पार्टीमा आस्था राख्ने हामीहरुलाई पार्टी बिधि बिधान अनुसार चलेन भन्ने बोल्न पाईन्छ भन्ने थाहा छ र बोलिरहेका छौ । तर बोल्दा किन बोलिस् भनेर कांग्रेसकै नेता कार्यकर्ताको अपमान नहोस् ।

कांग्रेस कांग्रेसमै हैसियत छुटाउने र हैसियत के भनेर प्रश्न गर्ने अपमान गर्ने नगरियोस् । जिल्ला सभापतिहरुले राखेका बिषयहरुलाई नेतृत्वले गम्भिर रुपमा लियोस् । अब म जन्मजात कांग्रेस, गर्भे कांग्रेस, कालो कांग्रेस भनेर मात्र कांग्रेसप्रति कुनै योगदान हुदैन । बरु यस्ता फुर्ती लगाउन छाडेर, कम्युनिष्ट पार्टीका मतदाता, स्वतन्त्र मतदाता, अन्य लोकतान्त्रिक पार्टी तिर बरालिएका मतदाता र नँया थपिने मतदातालाई कांग्रेसमा आकर्षित हुने बाताबरण बनाउन लागौ ।

(सापकोटा बैदेशीक रोजगारीका क्रममा जापानमा रहेका काँग्रेसका युवा कार्यकर्ता हुन् ?)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार