radio icon

Live Radio

युवा विश्वकप छनोटमा नेपालको तेस्रो जित, ओमान १५० रनले पराजित

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६


आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले तेस्रो जित हात पारेको छ। मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको हो।

२ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले सानदार जित हात पारेको हो। ओमानका लागि अमनप्रित सिरहाले १३ रन र जिल तन्नाले नटआउट १३ रन बटुले।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा नेपालका पवन सर्राफले ३ विकेट लिए। प्रतिश जिसी र सूर्य तामाङले २-२ विकेट लिए। कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीको नाममा १-१ विकेट लिए।

मलेसियमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४३.२ ओभरमा २ सय २९ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७५ रनको योगदान दिए। उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। भीम सार्कीले ४३ बलमा ३९ रन बनाए। आक्रमक ब्याटिङ गरेका प्रतिश जिसीले २३ बलमा ४१ रन जोडेका थिए। उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यसअघि खराब सुरुवात गरेको नेपालका सुरुवाती ब्याट्सम्यानले राम्रो ब्याटिङ् गर्न सकेनन्।

बलिङमा ओमानका मुजाहिर राजा, एरआर रवीन्द्र, अजाम अली र जिल तन्नाले २-२ विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो। वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल युएईसँग डिएल मेथड १ रनले पराजित भएको थियो।  तेस्रो खेलमा सानदार जित निकाल्ने क्रममा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो।

अब नेपालले आफ्नो अन्तिम खेलमा बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। सोहि दिन शीर्ष स्थानको युएईले ओमानसँग खेल्नेछ। ओमानले जित निकाले मात्र नेपालको विश्वकप छनोट हुने सम्भावना हुनेछ।

प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।

नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।

आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार