radio icon

Live Radio

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि शुरु हुँदै,राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने,सुरक्षा व्यवस्था कडा

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६


भिष्म लोध,बाँके
खेलकुदको महाकुम्भका रुपमा मानिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । औपचारिक रुपमा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ । प्रतियोगिताका अतिथिहरुलाई पाँच बजे, साढे पाँच बजे बोलाइएको भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ६ बजे प्रतियोगिताका उद्घाटन गर्नुहुने जनाइएको छ । तर प्रतियोगिता केहि खेलहरु गत चैत्र २७ गतेदेखि नै शुरु भइसकेको छ ।

नेपालमै यसै बर्ष हुने दक्षिण एशियाली खेलकुद (साग)को छनोट प्रतियोगिताका रुपमा रहेको हुँदा हजारौं खेलाडीको खेल्न पाउने अधिकारलाई कहींकतैबाट अवरोध नगरिदिन राखेपका सदस्य सचिव केशव कुमार बिष्टले अनुरोध गर्नुभएको छ । सात प्रदेश, तीन विभागीय र एक एनआरएनए गरी ११ टिमबाट एकैपटक एकै थलोमा जमघट हुने छन् ।

३५ खेल समावेश आठौंमा २ हजार ८२५ पुरुष तथा २ हजार ३८६ महिला खेलाडी सहभागी छन् । आठौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक गरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागिता रहेको राखेपले जनाएको छ । आठौं खेलकुद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक भएको राखेपले जनाएको छ ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन् । त्यस्तै राष्ट्रपति भण्डारी आउने भएपछि बाँके जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । खासगरी नेपालगञ्ज शाला क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार