radio icon

Live Radio

पाकिस्तानमा बम विस्फोट, ९ जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : बुधबार, बैशाख २५, २०७६


पाकिस्तानको लाहौरमा आज दाता दरबार मन्दिरको सुरक्षा भ्यानलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परी नौजनाको मृत्यु भएको छ । मारिनेमा पाँच प्रहरी, तीन नागरिक र एक आत्मघाती आक्रमणकारी छन् ।

किंग एडवर्ड मेडिकल विश्वविद्यालयका उपकुलपति खालिद गोन्दालले चारजनाको अवस्था गम्भीर रहेको बताए । घाइतेमध्ये केहीलाई मायो अस्पतालमा पनि भर्ना गरिएको छ ।

पञ्जाब प्रान्तका आईजीपी अरिफ नवाजले एलिट फोर्स सुरक्षाकर्मीका पाँच जवान विस्फोटमा मारिएको पुष्टि गरे । घटना स्थानीय समयअनुसार, बिहान पौने ९ बजे भएको हो । दाता दरबारको गेट नं २ मा रोकेर राखिएको प्रहरीको गाडीमा विस्फोट गराइएको थियो ।
विस्फोटको असरले नजिकैका वाहन र भवनहरूका शीशा फुटेको प्रत्यक्षदर्शीहरूले बताए ।

आक्रमण एक आत्मघाती आक्रमणकारीले गराएको प्रहरी अधिकारीहरूको आशंका छ । प्रारम्भिक अनुसन्धानले बममा सात किलोको विस्फोटक सामग्री भरिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार