radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले व्यक्त गरेको ‘निम्छरो’ शब्द सहित विपक्षीको अमर्यादित भाषा संसदको अभिलेखबाट हटाइयो

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही सांसदहरुले संसदीय मर्यादा विपरीत व्यक्त गरेका शब्दहरु संसदको अभिलेखबाट हटाइएको छ । प्रधानमन्त्रीले व्यक्त गरेका शब्दहरु गैर संसदीय भन्दै हटाउनु परेको यो दुर्लभ घटना हो । गत मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रयोग भएका संसदीय मर्यादा विपरीतका शब्दहरु अभिलेखबाट हटाउन सभामुख कृष्णबहादुर महराले आज निर्देशन दिनुभएको हो ।

कांग्रेस सांसदहरुले मंगलबारकै बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए । तर उक्त दिन अवरोध र होहल्लाकाबीच सदनको कारबाही अगाडि बढाउनुभएका सभामुख महराले विपक्षीको चर्काे आलोचनापछि आज प्रधानमन्त्री सहित सांसदहरुको गैर संसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको स्पष्टीकरण तथा सांसदहरुको जिज्ञासाका क्रममा दुवैतर्फबाट व्यक्त भएका संसदीय मर्यादा अनुकुल नरहेका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई सभामुख महराले निर्देशन दिनुभएको हो ।

मंगलबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निम्छरा र कुण्ठाग्रस्त प्रश्नको जवाफ दिन्न भनेपछि कांग्रेस सांसदहरुले होहल्ला मच्चाएका थिए । सो क्रममा सभामुख महरा, प्रधानमन्त्री ओली र विपक्षी सांसदहरुबीच जुहारी चलेको थियो ।

अवरोधका बीच पनि सदन चलाएर प्रतिपक्षलाई अबमुल्यन गरेको आरोप सभामुख महरा माथि लागेको थियो । सदनमा सत्तापक्षीय व्यवहार प्रस्तुत गरेको भन्दै कांग्रेस नेताहरुले सदन र सडकबाटै सभामुखको कार्यशैलीको आलोचना गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले त महरालाई इतिहासकै सबैभन्दा कमजोर, डरपोक र काँतर सभामुखको संज्ञा दिनुभएको थियो ।

विपक्षीले सरकारको आदेश पालक जस्तो भएर संसदमा प्रस्तुत भएको आरोप सभामुख कृष्णबहादुर महरालाई लामो समयदेखि लगाइरहेका छन् । चिकित्सा शिक्षा विधेयक पारित गर्ने क्रममा त झन सभामुखलाई प्रमुख विपक्षी कांग्रेसले चोर औँला नै ठड्याएको थियो ।

त्यसैले संसदीय गरिमा कायम राख्न सभामुख महराले संदनमा निष्पक्ष व्यवहार गर्न आवश्यक छ । साथै सांसदहरुले पनि आफ्नो पद र संसदीय गरिमाको ख्याल गरेर व्यवहार प्रदर्शन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार