radio icon

Live Radio

भियतनामी क्रान्ति नेपाली समाजवादी र प्रजातान्त्रिक आन्दोलनका लागि अभिप्रेरणाको स्रोत : ओली

  • radionrn
  • प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६


प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता नगरेको, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उहाँले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको बताउनुभएको छ ।

उहाँले होको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि अभिप्रेरणाको स्रोत भएको पनि बताउनुभएको छ ।

समाजवादी गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक मञ्चलाई सम्बोधन गर्दै आफू होबाट बाल्यकालदेखि नै प्रभावित भएको बताउनुभयो ।

उहाँले होलाई नेपालमा पनि सम्मानका रूपमा हेरिने गरिएको र उहाँको सम्मानमा अनेकौँ कविता, निबन्ध र गीत लेखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हो असाधारण नेता भएको र उहाँले इतिहास परिवर्तन गर्दै आफ्ना जनता तथा मुलुकलाई गौरवान्वित बनाएको र विश्वलाई समाजवादी आन्दोलनको नयाँ दिशा र आयाम दिएको बताउनुभयो । उहाँ राष्ट्रिय बल तथा साहसको प्रतीक भएको, उहाँले जनताको निःसर्त समर्थन प्राप्त गरी विश्वको सबैभन्दा बलियो सेनालाई पराजित गर्न त्यसलाई उपयोग गर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार