radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बजेटका सिद्धान्त र प्राथमिकतामाथी आज संसदमा छलफल हुने

  • radionrn
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


सरकारको बार्षिक बजेटका लागि सुझाव संकलन गर्ने उद्धेश्यले प्रतिनिधि सभा बैठकमा आज पुर्वबजेट छलफल हुने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक बर्षको बार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सुझाव तथा धारणा राख्नुहुने भएको हो ।

जनप्रतिनिधिले दिएका सुझावलाई समेटेर सरकारले वार्षिक बजेट तयार पार्ने संसदीय प्रणालीमा विश्वास गरिन्छ । तर नेपालमा भने सरकार तथा अर्थमन्त्रीले आफ्नै तरिकाले बजेट बनाउने र बजेट बनाईसकेपछि औपचारिकताका लागि मात्रै पूर्वबजेट छलफल गर्ने गरिएको छ ।

साथै सरकारको नीति तथा कार्यक्रमपनि पुर्वबजेट छलफलमा उठेका सुझावका आधारमा आउनु पर्ने भएपनि यस पटक पुर्व बजेट छलफल अघि नै नीति कार्यक्रम पारित भइसकेको छ ।

अघिल्ला बर्षहरुमा प्रिबजेट छलफलपछि मात्रै नीति तथा कार्यक्रम पेश हुने गरेको र विश्वव्यापी प्रचलन पनि त्यही रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रिबजेट छलफल नीति तथा कार्यक्रम भन्दा पहिले गर्न माग गरेको थियो । तर सरकारले गत २० गते नै नीति तथा कार्यक्रम पेश गराएर २४ गते विपक्षीको चर्को विरोधका बीच सत्तारुढ दलहरुले पारित गराएका थिए ।

आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता भने अर्थमन्त्री खतिवडाले गत आइतबार संसदमा पेश गर्नु भएको थियो । त्यसमाथी आज विहान ११ बजेपछि बस्ने प्रतिनिधि सभा बैठकमा सांसदहरुले दलीय आधारमा धारणा राख्नुहुने भएको हो ।

हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेकमा सदनमा छलफल भइसक्नु पर्ने व्यवस्था रहेकोले आज पुर्व बजेट छलफल हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार