radio icon

Live Radio

प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक पास हुन नदिने कांग्रेसको चेतावनी, देउवा भन्छन्, ‘रुन पनि पाइँदैन त्यत्तिकै भनेको होइन’

  • radionrn
  • प्रकाशित मिति : आइतवार, बैशाख २९, २०७६


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रताविरोधी विधेयकहरु ल्याएको भन्दै संसद्बाट त्यसलाई पास हुन नदिने चेतावनी दिएको छ । प्रजातन्त्रविरोधी यस्ता क्रियाकलाप रोक्न सदन र सडकबाट संघर्ष गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रेस स्वतन्त्रताविरोधी विधेयकहरुका विरुद्धमा संसद्मा कांग्रेस प्रखर ढंगले उभिने जानकारी दिइएको हो ।

प्रेससम्बन्धी कानुन निर्माण गर्दा सरकारले सरोकारवाला पक्षसँग कुनै छलफल नगरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले संविधान प्रतिकूल हुने विधेयकलाई ठोस रुपमा विरोध गर्ने बताउनुभयो । उहाँले यो विधेयकलाई फर्काएर सरकारले संविधान अनुकूल नै बनाएर ल्याउनुपर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदबाट पास भए पत्रकारमाथि ’कु’ हुने बताउनुभयो । आचारसंहिता उल्लंघनमै दश लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितको विधेयक पत्रकारमाथिको ‘कू’ भएको देउवाको टिप्पणी छ । उहाँले कांग्रेस जहिले पनि मिडियाको स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता जनाउनुभयो । सभापति देउवाले कम्युनिष्ट शासनमा रुन पनि पाइँदैन भनेर आफूले त्यत्तिकै नभनेको स्मरण गराउँदै अहिले यथार्तमा त्यो देखिन थालिसकेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सञ्चारकर्मीलाई विभिन्न बहानामा अनावश्यक दुःख दिने र सजायको कुरा गर्ने विषय कांग्रेसलाई मान्य नहुने बताउनुभयो ।

सरकारले बैसाख २७ गते राष्ट्रियसभामा दर्ता गराएको यो विधेयकको विरोध हुँदै आएको छ । विधेयक मार्फत सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लागेको छ । प्रेस सम्बन्धी आवश्यक कानुन निमार्ण गरेर यसभित्रका बिकृति हटाउन खोज्नु राम्रो पक्ष हो । तर बिकृति हटाउने नाममा प्रेस स्वतन्त्रतामाथि हनन गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार