radio icon

Live Radio

डेढ महिनादेखि बन्द चिया बगान आजदेखि खुल्ने

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६


नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन्।

सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए।

हिजो साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरको विभिन्न सङ्घ सङ्गठनका वार्ताकारबीच ३ बुँदे सहमति भएको हो।

सहमतिमा चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब २ सय ३१, महङ्गी भत्ता १ सय ४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ गरी ४ सय १८ रुपैयाँ ज्याला सबै चिया बगान तथा कारखानामा कार्वान्वयन गर्ने उल्लेख छ।

गत साउनदेखि नपाइरहेको पारिश्रमिक आगामी चैत मसान्तसम्ममा उद्योगी पक्षले मजदुरलाई भुक्तानी गरिसक्नुपर्ने सहमति पनि भएको छ।चिया क्षेत्रमा कार्यरत ५० हजार मजदुर विगत ४५ दिनदेखि न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनमा थिए।

सहमति भएकाले मजदुर आजदेखि नै काममा फर्किने नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार