radio icon

Live Radio

अमेरिकामा पत्रकारलाई मृत्युदण्ड हुन्छ: सञ्चारमन्त्री बास्कोटा

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६


काठमाडौं । सरकारले प्रेसलाई नियमन गर्न ल्याउन थालेको मिडिया काउन्सिल विधेयकलाई लिएर अहिले मुलक बहसमा छ । सत्तापक्षले विधेयकमार्फत मिडियामा देखिएका विसंगती हट्ने दाबी गरेको छ भने प्रतिपक्षले यो विधेयक लागु भएमा प्रेस स्वतन्त्रता कुण्ठित हुने बताइरहेको छ ।

पत्रकारका संगठनहरु विधेयकका विरुद्ध आन्दोलनमा रहेका बेला यो विषयले संसद बैठकमा पनि छलफल पाएको छ । आज नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँणले यो विधेयक प्रेस स्वतन्त्रताको खिलापमा रहेकाले फिर्ता लैजान माग गर्नुभएको छ । उहाँले विधेयक प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको रहेकोले फिर्ता लैजान माग गर्नुभयो ।

तर यता सरकारले भने मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित हुने नभई जिम्मेबार हुने दाबी गरेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम सरकारले गर्न थालेको भनेर विरोधीहरुले हल्ला फिजाएको बताउनुभयो । उहाँले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताउदै त्यस्ता कुरालाई रोक्न सरकार लागिपरेको बताउनुभयो । उहाँले पत्रकारिताको दुरुपयोग गरेमा अमेरिकामा पनि एक करोडसम्मको जरिवाना र मृत्युदण्ड समेत हुने कानुन रहेको स्मरण गराउनुभयो ।

मन्त्री बास्कोटाले अहिले देखिएका तमामै बिकृति र बिसंगतिको अन्त्यका लागि मिडिया काउन्सिल विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले पत्रकारको आर्थिक हैसियत उकास्न पनि यो विधेयकले काम गर्ने दाबी गर्नुभयो ।

सरकारले ल्याउन थालेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । नेपाल पत्रकार महासंगसहित पत्रकारका विभिन्न पेषागत संगठनहरुले यो विधेयक सच्याउन माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार