radio icon

Live Radio

मिडिया काउन्सिल विद्येयक पारित भए सबै मिडिया सरकार नियन्त्रित बन्ने मानवअधिकार संगठनको दाबी

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २, २०७६


काठमाडौं । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संगठनले यस्तो दाबी गरेको हो ।

प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्नेगरि ल्याइएको उक्त विद्येयकको उद्देश्य र कारण भनि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रष्टोक्तिमा संचार जगतलाई नियमनका नाममा नियन्त्रण गर्ने उद्देश्य रहेको संगठनको दाबी छ । त्यस्तै, उपप्रधानमन्त्री एवम् समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले टेलिभिजन अन्तर्वार्ता छोडेर गएपछि त्यसको भोलिपल्ट एभिन्यूजको विरगञ्ज व्यूरोको कार्यालय तोडफोड भएको घट्नाप्रति पनि संगठनले गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।

संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्यालले आफूहरु सञ्चार क्षेत्रको पूर्ण स्वतन्त्रता र स्वायत्तताको पक्षमा रहेको सुनाउनुभयो । उहाँले मिडिया काउन्सिल विद्येयक नेपालको संविधानको विपरित रहेको आरोप लगाउनुभयो ।

यसैबिच नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । कांग्रेसले जाजरकोटमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै विद्येयकका विरुद्ध आम नेपाली जनता पनि जाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको बताउदै सरकारले नागरिकको अधिकार खोस्दै गएको बताउनु भयो । बर्तमान सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायत क्षेत्रलाई समेत नियन्त्रणमा राख्ने हर्कत गरेको उहाले दाबी गर्नु भयो ।

नेता थापाले गणतान्त्रिक व्यवस्थामा जनताले नागरिक अधिकारको उपभोग गर्न पाउनु पर्ने भन्दै पत्रकारले गलतको कामको विरोधमा लेख्न र बोल्न पाउनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार