radio icon

Live Radio

विश्वभरी आज गौतमबुद्धको सम्झना गरिदै, बुद्धका कारण नेपाल पनि विश्वभरी परिचित

  • radionrn
  • प्रकाशित मिति : शनिबार, जेष्ठ ४, २०७६


२५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउने गरेका छन् ।

नेपालमा बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको क्रिडास्थल शुद्धोधनको दरबार क्षेत्र रहेको तिलौराकोट र कपिलवस्तु क्षेत्र, बुद्धको अस्तु धातु रहेको रामग्राम, मावली देवदह लगायतका क्षेत्र तथा बौद्ध गुम्बा, विहारहरुमा भव्य रुपमा बुद्धपूर्णिमा मनाईँदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा यसैअवसरमा विशेष कार्यक्रम आयोजना हुँदैछ । बुद्धपूर्णिमा मूल समारोह प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रुपमा व्यवस्थापन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीस्थित सभाहलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, बौद्धधर्मगुरुहरु, लगायत सहभागी हुँदैछन् । आजै प्रधानमन्त्रीले भिक्षुहरुलाई संघ दान दिने कार्यक्रम रहेको छ । यस्तै आजनै लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गर्नु हुने छ ।

इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो ।
यसैबिच बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जयन्तीका अवसरमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प साकार पार्न सबैसँग आह्वान गर्नु भएको छ ।

सन्देशमा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिएको बताइएको छ ।

यता उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताउनु भएको छ ।

यसै बिच प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनु भएको छ । २५ सय ६३औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनु भएको हो ।सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार