radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

राजपा अध्यक्षमण्डलको संयोजकमा अनिल झा

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्नु हुने भएको छ । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी पाउनुभएको हो । संयोजक भण्डारी अवधि आइतबारबाट सकिएकाे छ ।

यसैबीच राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन गरेको जनाएको छ । विधानमा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो ।

पार्टी विधानअनुसार निर्वाचन आयोगले विसं २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो । असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ (१०) मा रहेको २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको छ ।

राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । विधान संशोधन नगर्दा राजपालाई विसं २०७६ असार मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता हुन्छ । जेठ २ देखि ५ गतेसम्म बसेको अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको व्यवस्था पनि हटाएको राजपाको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार