radio icon

Live Radio

संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने, विभिन्न विधेयकहरु पेश हुने

  • radionrn
  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६


काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधि सभाको बैठक विहान ११ बजेदेखि बस्ने भएको छ भने राष्ट्रिय सभाको बैठक दिउसो एक बजेदेखि बस्ने तय भएको छ ।

प्रतिनिधि सभाको बैठकमा “अर्थ समितिद्वारा २०७६ वैशाख महिनामा आयोजित आ.व. २०७६÷७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन समितिका सभापति कृष्ण प्रसाद दाहालले पेश गर्नुहुने भएको छ ।

त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट “महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, “नेपाल सरकारको आर्थिक वर्ष २०७४÷०७५ को सुशासन प्रतिवेदन” “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४÷०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन” पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी “राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि मिनेन्द्र प्रसाद रिजाल र प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रधानमन्त्रीकै तर्फबाट सो विधेयक प्रस्तुत हुने छ ।

आजको बैठकमा “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि प्रधानमन्त्री ओलीको तर्फबाट पेश हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले “प्रहरी समायोजन विधेयक” र “प्रहरी समायोजन विधेयक” पेश गर्नुहुने छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,” वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन विधेयक, र “वातावरण संरक्षण विधेयक,” प्रस्तुत गर्नुहुने छ ।

भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५” प्रस्तुत गर्नुहुने कार्यसूची संसद सचिवालयले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार