radio icon

Live Radio

लोडसेडिङ हटाएको दम्भ बोकेर कुलमानले भ्रष्टाचार गरिरहेको सांसद मोदीको आरोप, घिसिङको यस्तो चेतावनी

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिनुभएको छ ।  कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पार्नुभयो ।

आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिनुभएको हो ।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराउनुभयो । घिसिङले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानवीन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानवीन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पार्नुभयो ।

यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभयो । उहाँले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो? भनि गम्भीर प्रश्न उठाउनुभयो ।

सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गर्नुभयो । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टंक लाईनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्म नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार