radio icon

Live Radio

पाँचथर हत्या घटनापछि युवकले आत्महत्या गरेकोे स्थान नजिकै रगत लतपतिएको खुकुरी भेटियो

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६


खविन लुईटेल , पाँचथर । पाँचथरमा ९ जनाको ज्यान जानेगरि भएको हत्या घटना लगत्तै झुण्डिएर आत्महत्या गरेका युवक शव फेला परेको स्थानबाट प्रहरीले रगत लतपतिएको खुकुरी फेला पारेको छ । ति युवक हत्या घटनामा मारिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइ मान बहादुर माखिम रहेको प्रहरीले जनाएको छ ।

यो संगै ९ जनाको हत्या काण्डमा मान बहादुरको संगलग्नता रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसंधानले देखाएको छ ।  गाउँपालिकाको आरुबोटेमो विभत्स हत्याकाण्ड भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा मानबहादुरले झुण्डिएको आत्महत्या गरेका थिए । माखिम झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिनुभयो । गएराती भएको हत्या काण्डमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्माको ज्यान गएको थियो ।

यस्तै १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुमको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । यसै बिच प्रतिनिधीसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाँउपालिकामा भएको हत्याकाण्डबारे सरकारको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । यस्तै सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताउनु भएको छ ।

उता, भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिनुभयो । धोत्लेखानी जंगलमा हतियारसहित ३०–३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाइरहेको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो ।

गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेका थिए। अन्य कार्यकर्ता भने भागेका छन् ।
उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार