radio icon

Live Radio

संविधानसभा पदकमा सूर्य चिन्ह रहेको भन्दै कांग्रेसको विरोध, गृहमन्त्रालय भन्छ ‘त्यो स्थानीय तहको संकेत हो’

  • radionrn
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा संविधानसभाका सदस्यलाई बाँडेको संविधानसभा पदक विवादमा तानिएको छ । प्रतिपक्षका कतिपय सांसदहरुले यो पदक र प्रमाणपत्र अस्वीकार गरेका बेला सत्तापक्षबाटै पनि विरोध भइरहेको छ ।

कांग्रेस सहितका कतिपय संविधानसभा सदस्यहरुले आफूहरु यो पदकका लागि योग्य नरेहेको बताएका छन् भने कतिपयले राष्ट्रपति भण्डारीबाट ग्रहण नगर्ने अडान लिएका छन् । पछिल्लो समय पदकमा कुनै एक राजनीतिक दलको चुनाव चिन्ह अंकित गरिएको भन्दै विरोध सुरु भएको छ ।

राष्ट्रपतिले प्रदान गर्ने उक्त पदकमा सूर्य चिन्ह अंकित गरिएको भन्दै कांग्रेसले विरोध गरेको हो । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संविधान निर्माता सभासदलाई चिनारी (पदक) वितरण गर्ने शैलीमाथि पनि प्रश्न उठेको बताउनुभयो । पदकको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्षको अवमुल्यन गरेको सांसद रिजालको दाबी छ ।

संविधानसभा पदकको बीचमा सूर्य जस्तै आकार प्रष्ट देख्न सकिने भन्दै कांग्रेसले विरोध जनाएको हो । यो विषयमा कांग्रेसभित्र बहस र छलफल भइरहेको पनि नेताहरुले बताएका छन् । तर यता सरकारले भने पदकको डिजाइनमा कहिँ कतै सूर्य चिन्ह नरहेको दाबी गरेको छ । पदकको बीचमा धर्का जस्तै देखिने आकृति सूर्य चिन्ह नभएर त्यसले ७५३ स्थानीय तहलाई बुझाउँने गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव महादेव पन्थले जिकिर गर्नुभयो ।

हुन त नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई राज्यले सम्मान प्रदान गर्नु नराम्रो पक्ष भने होइन । तर, संविधान निमार्णका लागि जनताको जनादेश पाएका संविधानसभा सदस्यलाई स्यावासी दिन मात्रै संविधानसभा पदक प्रदान गरिएको विषयमा सत्तापक्षबाटै विरोधको स्वर सुनिएको छ ।

नेकपा सांसद रामकुमारी झाक्रीले त संविधानसभा पदक लगाएर भोज खान जाने कि के गर्ने भनेर सामाजिक सञ्जालमाफर्त प्रश्न गरेकी छन् । कुनै एक दलको चुनाव चिन्ह अंकित गरिएको विषयले सत्तापक्षको नियत प्रष्ट पारेको कांग्रेसले आरोप लगाएको छ । त्यसैले इतिहासमा महत्वपूर्ण मानिने यस्ता विषयमा विवाद ननिम्त्याउने गरी काम गर्न सरकारले ध्यान दिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार