radio icon

Live Radio

लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न कांग्रेसको माग

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताएको छ । पार्टी केन्द्रिय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा विपरीत खुलाइएकोे विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताउनु भयो ।

उहाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पार्दै समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताउनु भयो । प्रवक्ता शर्माले विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोक सेवा आयोगले सो विज्ञापन पुन खुलाउन ढिलाई गर्न नहुने पनि बताउनु भयो ।

पार्टीका प्रवक्ता शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको पनि जानकारी दिनु भयो । जागरण अभियान पश्चात समग्रतामा सरकारप्रति विकर्षण र कांग्रेसप्रति आकर्षण बढेको कांग्रेसको निचोड छ । कमजोरीहरुलाई सुधार्दै भदौ २४ गतेबाट हुने दोस्रो जागरण अभियानलाई थप प्रभावकारी बनाउने शर्माले जानकारी दिनु भयो ।

यस्तै शर्माले जागरण अभियानमा ३१ हजार ६४२ जना विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेको दाबी गर्नुभयो । पार्टी प्रवेश गर्नेमा अधिकांश सत्तारुढ दलका रहेको जनाइएको छ ।

पहिलो चरणमा देशका साथै नेपालबाहिर ३३ देशमा जागरण अभियान अन्तर्गत गणतन्त्र र सुशासनका बारेमा विचार, विमर्श रहेको प्रवक्ता शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार