radio icon

Live Radio

सरकारको रिसले विरोधी मास्क लगाएर हिडेको प्रधानमन्त्रीको आरोप, आफ्नो स्कुटरमा बसेर यात्रा गरिदिन सांसदको आग्रह

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा मास्क नलगाएर पनि हिँड्न सक्ने अवस्था भइसकेको भन्दै आफूले दिएको अभिव्यक्तिको बचाउ गर्नुभएको छ । केही दिन अघि ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाडौँका सडक सफा भएको र मास्क नलगाई हिँड्न सकिने वातावरण बनेको अभिव्यक्ति दिनुभएको थियो ।

काठमाडौँको धुँवा धुलोले आजित भएका बासिन्दाहरुले प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गरेका थिए । सामाजिक सञ्जाल र अन्य राजनीतिक मञ्चहरुमा पनि प्रधानमन्त्रीको अभिव्यक्तिको लगातार विरोध भइरहेका बेला ओलीले भने आफ्नो भनाईको बचाउ गर्नुभएको हो । उहाँले आज राजधानीमा आयोजित एक कार्यक्रममा त झन आफ्नो रिस गर्नेहरुले अहिले जबरजस्ती मास्क लगाउन थालेको आरोप सम्म लगाउनुभयो ।

यस भन्दा पहिले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि काठमाडौँमा मास्क लगाउनेहरु घटेको आफूले पाएको भन्दै अभिव्यक्ति दिएपछि त्यसको विरोध भएको थियो । प्रचण्डको भनाई उल्लेखित समाचार सामाजिक सञ्जालमा शेयर गर्दै माािनसहरुले आफूहरुको क्षेत्रमा रहेको सडकमा अनुगमन गर्न आग्रह गरेका थिए ।

यसपटक त सांसदहरुले नै प्रधानमन्त्री ओलीलाई सडकको अवस्थाबारे स्थलगत निरीक्षण गर्ने चुनौती दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले धुँवा धुलोबारे बुझ्न वनस्थली सडकमा आफूसँगै स्कुटरको पछाडि बसेर यात्रा गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

धुँवाधुलोका कारण आजित भएका राजधानीबासिका लागि काठमाडौँका सडकमा यात्रा गर्न मास्क अनिवार्य जस्तै छ । तर आम नागरिकको यो अनिवार्य नियती र समस्याबारे चिल्ला कारहरुमा सडक खाली गरेर हुइकिने प्रधानमन्त्रीले आवश्यक जानकारी नलिएरै टिप्पणी गर्नु बाच्छनीय हुँदैन ।

यसको अर्थ सरकारले सडक सफाईका लागि कामै गरेको छैन भन्ने होइन तर पर्याप्त काम हुन नसकेको भने यथार्त हो । त्यसैले भाषणमा सरकारका कामको जस लिन हतार गर्ने प्रधानमन्त्रीले व्यवहारमा पनि प्रगति देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार