radio icon

Live Radio

पूर्वाधार नभएका कारण विषादी परीक्षण रोकिएको सरकारी दाबी कृषिमन्त्रीद्वारा खारेज

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६


काठमाडौँ – आवश्यक भौतिक पूर्वाधार र उपकरण नभएको भन्दै भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी परीक्षण स्थगीत गरेको सरकारी दाबीको कृषि मन्त्रीले नै खण्डन गर्नुभएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले पूर्वाधार नभएको भन्दै परीक्षण स्थगीत गरेको कुरा सही नभएको भन्दै खण्डन गर्नुभएको हो । उहाँले तत्कालका लागि केही अप्ठ्यारोका बाबजुद सातै प्रदेशमा तरकारी तथा फलफुलको विषादी परीक्षण गर्न सम्भव रहेको दाबी गर्नुभयो ।

मन्त्री खनालले एकाएक पूर्वाधार अभावमा विषादी परीक्षण स्थगितको निर्णय आउनुलाई आफूले पनि आश्चर्यका रुपमा लिएको संकेत गर्दै यस विषयमा बहस आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

मन्त्री खनालका अनुसार काठमाडौँको कालिमाटीस्थित केन्द्रमा २९ विषादी समूहको परीक्षण हुन्छ भने ६ ठाउँमा परीक्षण केन्द्र रहेका छन् । तर विषादी परीक्षणबारे काठमाडौँ स्थित भारतीय दूतावासले पत्र लेखेर विरोध जनाएपछि सरकारले पूर्वाधारको बहाना पारेर हठात आफ्नो निर्णय फिर्ता लियो ।

सरकारले भनेको पूर्वाधार अभावको विषयलाई मन्त्री खनालले नै झुठो अफवाह भनेपछि ओली सरकार भारतीय दबाबमा परेको थप प्रष्ट भएको छ ।

मन्त्री खनालले विषादी परीक्षणका लागि तत्काल काम रोकिने अवस्था नरहेको तर अत्याधुनिक उपकरण जडान गर्न कम्तिमा पनि एक वर्ष लाग्ने दाबी गर्नुभयो ।

उहाँले सरकारले दाबी गरेझैँ ६ महिनामै काम सम्पन्न गर्न कठिन रहेको बताउनुभयो ।

तयारी नपुगेको भन्दै मन्त्रिपरिषदले विषादी जाँच गर्ने निर्णय स्थगित गरेपछि सत्तारुढ नेकपाकै नेता कायकर्ताहरुले पनि सरकार भारतीय दबावसामू झुकेको टिप्पणी गरिरहका छन् ।

प्रतिपक्षी कांग्रेसले त झन यो विषयलाई सरकारको विरोध गर्ने नयाँ खुराकका रुपमा अपनाएको छ । आज प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांस गगन थापाले भारतसामु प्रधानमन्त्री ओलीको राष्ट्रवाद लम्पसार परेको टिप्पणी गर्नुभयो ।

उहाँले लम्पसार परेर नथाक्ने प्रधानमन्त्रीको घुँडामा कत्रो भ्वाङ प¥यो भन्दै प्रश्न गर्नुभयो ।

विदेशबाट तरकारी तथा फलफुल आयात गर्दा विषादी परीक्षणका लागि आवश्यक पूर्वाधार छ कि छैन भनेर अध्ययन विश्लेषण गरेरै सरकारले परीक्षण गर्ने निर्णय गर्नुपर्ने हो ।

कृषि मन्त्रीले भनेझैँ विषादी परीक्षण गर्ने केन्द्र ठाउँ ठाउँमा रहेको थाहा पाएर नै सरकार परीक्षण गरेर मात्र आयात गर्ने निर्णयमा पुगेको हुनुपर्छ ।

तर अहिले पूर्वाधार छैन भन्दै आफ्नै निर्णय उल्टाएर ओली सरकारले जगहँसाई मच्याएको विष्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार