radio icon

Live Radio

विषादी परीक्षणको निर्णय गर्दा सचिवले डुबाएः मन्त्री यादव 

  • radionrn
  • प्रकाशित मिति : सोमवार, असार २३, २०७६


काठमाडौँ – तरकारी तथा फलफुलमा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने सरकारी निर्णय फिर्ताको विषयमा चर्केको विवाद साम्य भन्दा पनि झन झन बढ्दै गएको छ ।

विशेष गरी विवादित सरकारी निर्णयमा प्रतिपक्षी दलले विरोध जनाउने परम्परा भए पनि विषादी परीक्षणको विषयमा भने सत्ता पक्षबीच नै आरोप प्रत्यारोप र जुहारीको सिलसिला चलेको छ ।

हिजो कृषि मन्त्री चक्रपाणी खनालले बाणिज्य मन्त्रालयको कमजोरीका कारण विषादी परीक्षणको निर्णय फिर्ता लिनु परेको आरोप लगाउनुभएको थियो ।

मन्त्री खनालले बाणिज्यले प्रस्ताव गरेपछि आफूले निर्णय गरेको र पछि बाणिज्यकै कमजोरीका कारण फिर्ता लिनु पर्ने अवस्था आएको आरोप लगाउनुभएको थियो ।

तर आज बाणिज्य मन्त्री मातृका यावदले कृषिमन्त्री खनालको आरोपको प्रतिकार गर्नुभएको छ । उहाँले कृषि मन्त्रालयसँग विषादी परीक्षण गर्न सक्ने क्षमता नै नरहेको कुरा आफूलाई थाहा नै नभएको बताउनुभयो ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यावदले नेपाल भित्रने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा मन्त्रालयका सचिवहरु जिम्मेवार रहेको आरोप लगाउनुभयो । उहाँले सचिवहरुको भर पर्दा आफू डुबेको बताउनुभयो ।

प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार जना सचिवले आफूलाई गुमराहमा राखेको मन्त्री यादवको भनाई थियो । उहाँले प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबाबमा निर्णय फिर्ता लिएको नभई सचिवहरुको भर पर्दा आफू डुबेको बताउनुभयो ।

निर्णय गर्ने बेलामा सचिवहरुले विषादी परीक्षणबारे नेपालको क्षमताबारे भन्दै नभनेको मन्त्री यादवको आरोप छ । मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै सबै जिम्मा आफै लिने पनि बताउनुभयो ।

उहाँले जनतालाई विषादी खान नदिनेमा आफू दृढ रहेको बताउनुभयो । अहिलेलाई गल्ती भएको र माफी माग्न चाहेको बताउँदै उहाँले आफूलाई थप्पड हानेर सन्तोष मिल्छ भने त्यसका लागि तयार रहेको पनि बताउनुभयो ।

विषादी परीक्षण गरेर मात्रै तरकारी तथा फलफुल आयात गर्नु एक सार्वभौम मुलुकका लागि अनिवार्य विषय हो तर वर्षाैँदेखि विषादीयुक्त तरकारी भारतबाट नेपालमा आयात भइरहेको छ ।

सरकारले ढिलै भएपनि परीक्षण गर्ने निर्णय गर्नु सकारात्मक पक्ष थियो । तर पूर्वाधार नभएको विषय निर्णय गरिसकेपछि थाहा पाएको भन्दै एक मन्त्रीले अर्काे मन्त्री र अर्काे मन्त्रीले मातहतका सचिवलाई दोषारोपण गर्नु लाजमर्दाे विषय हो । सरकारले  यथासक्य चाडो पूर्वाधार खडा गरेर विषादी परीक्षण गरेर मात्रै आयात गर्ने कर्तव्यबाट टाढा भाग्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार