radio icon

Live Radio

ऐतिहासिक भाँडाकुँडा उदासी अखडामा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौँ । हलुवा बनाउन प्रयोग हुने आठ जनाले उचाल्नुपर्ने फलामका विशाल कराई, पन्ध्र पाथी चामलको भात पाक्ने तामाका खड्कुलो, पाँच केजी दाल पाक्ने तामाको घ्याम्पो । दुई हातले मात्र उचाल्न सक्ने तामाको डाडु, झाँजर… । यस्ता भाँडाकुँडा बागमती नदी किनार उदासी अखडामा अझै पनि यत्रतत्र छरिएर रहेका छन् । ती भाँडावर्तन ऐतिहासिक कालखण्डका चिनारी हुन् ।

नेपालको लामो इतिहास र परम्परालाई सम्झाउने ती सामग्रीलाई सङ्ग्रह गर्ने तयारी चलिरहेको छ । सो अखडाका प्रमुख पुष्पराज महाराजले त्यहाँ भएका जस्ता विशाल आकारका भाँडाकुँडा कतै पनि नभएको बताउनुभयो । ऐतिहासिक, पुराताìिवक सामानहरू, धार्मिक पुस्तक, पत्रपत्रिकालाई भावी पुस्ताले हेर्न पाउने गरी सङ्ग्रहालयमा राखिने जानकारी दिनुभयो ।

उहाँका अनुसार राणाकाल र त्यसअघि काठमाडौँ बाहिरका पाहुना आउँदा ती भाँडाकँुडामा खाना, खाजा, प्रसाद तयार गरी खुवाउने प्रचलन रहेको थियो । धार्मिक मान्यताअनुसार पवित्र नदी बागमती किनारमा धर्म रक्षाका लागि त्यस समयमा सत्तल, घाटको व्यवस्थापन गरिएको थियो । भाँडाकुँडालगायतका सामग्रीको जोरजाम त्यसैका लागि गरिएको थियो । अब भने ती ऐतिहासिक सामानलाई सङ्ग्रहालय बनाएर राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

उपत्यकामा शिवरात्रिलगायत अन्य ठूला धार्मिक अनुष्ठानको आयोजना गर्दा जम्मा भएका पाहुना, तीर्थयात्री वा उपचार गर्न आएका बिरामी र आफन्तलाई तिनै भाँडामा पकाएर खुवाउने गरेको उदासी अखडाका प्रमुख महाराज बताउनुहुन्छ । उहाँले सुनेअनुसार ९० सालको भूकम्पमा पनि सोही भाँडाकुँडामा भूकम्पपीडितका लागि भण्डारा लगाइएको थियो ।

ती खड्कुलोलगायतका भाँडाकुँडाको डिलमा श्री–३ सहित विभिन्न मिति उल्लेख हुनुले ती सामग्री राणाकालीन हुन् भन्ने प्रमाणित हुन्छ । त्यहाँ रहेका कतिपय भाँडाकुँडा लिच्छविकाल, मल्लकालसम्मका रहेको जानकारी दिँदै उहाँले अखडाको छेउमा त्यतिबेला राणा प्रधानमन्त्री जङ्गबहादुर राणा हिँड्ने बाटोमा बनाइएको गेट पनि अझै सुरक्षित छ भन्दै देखाउनुभयो । २०१४ सालमा देवताको मूर्ति हराउन थालेपछि अखडाको जीर्ण मन्दिरमा रहेको बाह्र सय वर्ष पुरानो बद्रीनाथ मूर्तिलाई सत्तलमै सारेर पनि सुरक्षित, नियमित पूजा गरी संरक्षण गरिएको छ ।
सङ्ग्रहालयमा पूजा अर्चनासहित सो मूर्ति, खड्कुलो, तावा, तामाका घ्याम्पो, माटोको घ्याम्पो, फलामका कराई, फोसी, चिम्टा, जन्जिर, तोडा, काठका ठेकी, मदानी, झाँजर, लिच्छविकालीन डाडु, जमरलगायत ऐतिहासिक महìवका एक सय थान भाँडाकँुडा राख्ने तयारी भइरहेको महाराज बताउनुहुन्छ ।

साथै सो अखडामा रहेका तीन सय पचास वर्षभन्दा पुराना धार्मिक पुस्तक, पत्रपत्रिका, चार वेद, छ शास्त्र, १८ पुराण, मैथली, नेपाली, हिन्दी, उर्दू र बुद्धकालीन पाली भाषाका पुस्तक र हस्तलेखन गरी तयार पारिएका पुस्तकहरू समेत सङ्ग्रहालयमा सुरक्षित राखेर सबैले ऐतिहासिक सामान हेर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो । आदिगुरु ग्रन्थ, शङ्करभाष्य, उपनिषद् पनि सङ्ग्रहित हुनेछन् ।

पौराणिक कालमा सर्वसाधारण जो कोही पवित्र बागमती नदी किनारमा नुवाइधुवाइ गरी ध्यान, जप, पूजापाठ गर्ने परम्परा थियो । राणाकालमा धर्म रक्षाका लागि सोही स्थानमा व्यवस्थित घाट, सत्तल निर्माण गरी भक्तिमार्ग, ज्ञानमार्ग, योगमार्गलगायतका सनातन धर्मावलम्बी योगीहरू सन्न्यासी, उदासी, नाथ, बैरागी सम्प्रदायका लागि बास, धार्मिक अभ्यासका लागि व्यवस्था मिलाइएको थियो । तिनै अखडामध्ये उदासी अखडामा रहेका ऐतिहासिक धार्मिक, पुराताìिवक सम्पदा भने अब सङ्ग्रहालयमा राखेर संरक्षण गरिने भएको हो ।

सो अखडाका प्रमुख महाराजले प्रदेश ३ सरकारको सहयोगमा जीर्णाेद्धार भइरहेको पक्की भवनमा सो अखडामा रहेका सामग्रीलगायत वरपर अन्य अखडामा छरिएर रहेका सामान, पुस्तकहरू पनि सङ्कलन गरी जुग–जुगसम्मका लागि संरक्षण गर्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार