radio icon

Live Radio

देशभर अत्यधिक वर्षा हुँदा लमजुङ्गमा पुल भत्कियो, काभ्रेमा ग्रामीण सडक अबरुद्ध

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं । दुई/तीन दिन देखिको लगातारको वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानका साथै सडक अवरुद्ध भएका समाचारहरू प्राप्त भएका छन् ।

मौसमविदहरूले विहीबार र शुक्रबार देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना भएकाले बाढी पहिरोप्रति सजग रहन आग्रह गरेका छन् ।

हाम्रा लमजुङ्ग समाचारदाता बेलिना थापाका अनुसार हिमाली जिल्ला मनाङको हुम्डे र ङावल जोड्न बनाइरहेको स्टील गर्डर ब्रिज मस्र्याङ्दी नदीमा खसेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे र ३ ङावल जोड्न मस्र्याङदी नदीमाथि मोटर हिँड्न मिल्ने पुल बनाउँदै गर्दा खसेको स्थानीयले बताएका छन् । स्टील जोड्ने कार्य अन्तिम चरणमा पुगेको उक्त पुल मस्र्याङ्दी नदीमा झुण्डिएको अवस्थामा रहेको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गोदारले बताउनुभयो । उहाँका अनुसार पुलको स्टील जोड्न नदीमै राखिएको टेको बुधबार दिउँसोतिर बाढीले बगाएपछि पुल खसेको हो । उहाँले भन्नुभयो–‘पुल बनाउँदै गर्दा नदीको छेउछाउ टेको लगाएको थियो । त्यही टेकोको जगलाई बाढीले बगाएपछि पुल खसेको रहेछ ।’

पुलको स्टील जोड्नेकार्य अन्तिम चरणमा पुग्दै गर्दा बाढीले टेको बगाएपछि निर्माणाधिन पुल नै मस्र्याङदीमा खसेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताउनुभयो । यसअघि पुल खस्नै लाग्दा निर्माण कम्पनीलाई स्टीलहरु झिकेर राख्न निर्देशन दिए पनि समयमा काम हुन नसक्दा अहिलेको बाढीले टेको बगाएको र नदीमा पुल खसेको उहाँले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय लमजुङका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीका अनुुसार साविकको जिल्ला विकास समिति मनाङले अघि सारेको योजना तत्कालीन प्राविधिक कार्यालयले हेरेको थियो ।

प्राविधिक कार्यालय हटेको र अहिले पूर्वाधार विकास कार्यालय मनाङमा नरहेकाले लमजुङबाटै हेरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ग्याल्वा–क्याराभान जेभी काठमाडौंसंग २०७३ असार ३० गते मा चार करोड ५१ लाखरुपियाँमा सम्झौता भएर काम सुरु गरिएको थियो । पुलको निर्माणकार्य २०७५ मंसिर १५ मा सक्नुपर्ने थियो । उक्त पुलको लम्बाई ३५ मिटर र चौडाई साँढे ४ मिटरको छ ।

जिल्ला समन्वय समिति मनाङले २०७५ चैत १९ गते पूर्वाधार कार्यालयलाई उक्त पुलको फाइल हस्तान्तरण गरेको थियो । नदीमा पानीका बहाव बढ्दै जाँदा टेकोको जगलाई खोल्दै लगेको र पुल बगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार पुलको स्टील पार्टहरु बांगिएको र तल खसेको छ । केही बांगिदै गर्दा निर्माण कम्पनीलाई भनेको र लमजुङ–मनाङ सिमाना म्यार्दीमा पुल बगाएपछि सवारी आवागमन रोकिँदा स्टील खोल्ने सामान पुग्न नसक्दा अहिले आएर पुल खसेको हो । उहाँले भन्नुभयो–‘जसोतसो कामदार पुल पुग्यो । स्टील खोल्ने सामान पुग्न नसक्दा कामदारले स्टील झिक्न पाएनन् । अन्तमा पुल खस्यो ।’

पुल निर्माण कम्पनी क्याराभान कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रामकृष्ण कोन्डाका अनुसार स्टील गर्डर ब्रिजको स्टील जडानकार्य अन्तिम चरणमा पुगेको बेला मस्र्याङदीमा खसेको हो । पुलको चार वटा मेम्बर राख्न बाँकी थियो । उक्त मेम्बर राखिसकेपछि पुल कसेर ढलान गर्ने तयारी गरिएको थियो । मेम्बर पुरा राख्न नपाउँदै पुललाई राखिएको टेकोको बेस खोतलेर लगेपछि पुल खसेको उहाँले बताउनुभयो । पुलका सवै पार्ट खसेको र बांगिएकाले उक्त मेम्बरहरु काम नलाग्ने उहाँले बताउनुभयो । उक्त स्टील करीब १ करोड मुल्य बराबरको रहेको उहाँले बताउनुभयो ।

यसैबीच काभ्रे समाचारदाता मधुसुदन तिमिल्सिनाका अनुसार जिल्लाका ग्रामीण भेगमा सञ्चालनमा रहेका सडकहरूमा आएको पहिरोका कारण अबरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगेका छन ।
जिल्ला सदरमुकाम जोडिएका सडक भन्दा माथि खनिएका नयाँ सडक ट्याक भत्किएर पहिरो जाँदा अधिकांश ग्रामीण सडकहरु अबरुद्ध भएको स्थानीयले बताएका छन ।

बेथानचोक गाउँपालिकाको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडक एक हप्ता देखी अबरुद्ध भएको स्थानीयले बताएका छन । बेथानचोक गाउँपालिका वडा न १ का नबराज सापकोटाले निरन्तर चलिरहेको ढुङर्खक–च्याम्राङबेशी–मिल्चेबोरङबेशी सडक भन्दा माथि खनिएको नयाँ ट्याकका कारण आएको पहिरोका कारण सडक बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर भएको बताउनुभयो ।
बेथानचोक गाउँपालिका वडा नं १ लामिडाँडाका भरत तिमल्सिना घर निर्माण गर्ने क्रममा घरको छानाबाट लड्दा सख्त घाइते भए पनि उपचारका लागि ल्याउन नसकेको स्थानीयले फोन मार्फत जानकारी दिए । बेथानचोक गाउँपालिका वडा न १ का वडा सदस्य समेत रहनुभएका गोपालकृष्ण सापकोटाले घर निर्माण गर्ने काम गर्दै आउनुभएको तिमल्सिनाको विहीबार साँझ छानाबाट लड्नुभएको थियो ।

लडेर घाइते हुनुभएको उहाँको हात भाँचिनुका साथै हात तथा शरिरका विभिन्न भागमा चोट लागे पनि अबिरल वर्षाको कारण उनलाई उपचारका लागि अस्पताल सम्म पुर्याउन नसकिएको सापकोटाले जानकारी दिनुभयो ।
अविरल वर्षा सँगै उक्त क्षेत्रको सडक पूर्णरुपमा बन्द हुनुका साथै विभिन्न क्षेत्रमा गएको पहिरोका कारण गोरेटोबाटो समेत हिँडन नसक्ने अवस्था रहेको स्थानीयले जानकारी दिएका छन् ।

बेथानचोक गाउँपालिका वडा न १, खानीखोला गाउँपालिका वडा न ६ र ७ र ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा न ४ र ५ का केही भागका स्थानीयहरुले सडक अबरुद्ध हुँदा सास्ती पाएको सापकोटाले बताउनुभयो । त्यस्तै जिल्लाको महाभारत गाउँपालिकामा पनि यातायात सञ्चालन अबरुद्ध भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिनुभयो । जिल्ला सदरमुकामसँग अझै सिधैँ सडक नजोडिएको उक्त गाउँपालिकामा सिन्धुली जिल्ला भएर जानुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिका अध्यक्ष जिम्वाले अविरल बर्षाका कारण अधिकांश ग्रामीण सडकमा पहिरो जाँदा यातायात सञ्चालन बन्द भएको बताउनुभयो । जिल्लाको खानीखोला गाउँपालिका जोड्ने खोपासी–तालढुङ्गा सडकमा पनि ठाउँठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको स्थानीयले बताएका छन । त्यस्तै तेमाल, रोशी, चौँरीदेउराली, भुम्लु गाउँपालिकामा वडा वडामा जाने सडकहरु अबरुद्ध भएका छन । असारे विकासका कारण खनिएका सडकहरु भत्किने गर्दा भएका पुराना सडकहरु पुनःबन्द हुन पुगेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार