radio icon

Live Radio

कांग्रेसका उपसभापति निधि पुगे, प्रहरीको गोली लागेर सर्लाहीमा मृत्यु भएका सिंहको घर

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं – प्रहरीको गोली लागेर सर्लाहीमा मृत्यु भएका सरोजनारायण सिंहको घर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पुगेका छन् । तेह्रौं पुण्यतिथिमा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न उनी सिंहको सर्लाहीको ईश्वरपुरस्थित घर पुगेका हुन् ।

उपसभापति निधिले सिंहका बुबा जीवछनारायण सिंह, आमा उर्मिला देवी, श्रीमती रंगीला देवीलगायत परिवारका अन्य सदस्यलाई भेटेर श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको तर्फबाट हरेक खाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो स्थलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उपसभापति निधिले घटनाको दोषीलाई कारबाही गर्नुका साथै सिंहलाई तत्काल शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन् । संसदीय समिति बनाएर घटनाको छानबिन गर्न नेपाली कांग्रेसले सदनमा आवाज उठाइरहेको उनले बताए ।

‘सिंहलाई शहीद घोषणाका लागि सिफारिस गर्ने सहमति भएको छ,’ निधिले भने, ‘स्थानीय प्रशासनले गरेको सहमति तत्काल कार्यान्वयन हुनुपर्छ ।’ सिंहकी श्रीमतीलाई रोजगारीको व्यवस्था, बालबच्चाको भरणपोषण तथा पढाइ लेखाइको व्यवस्था स्थानीय तहले गर्नुपर्ने उनले बताए ।

अवैध उत्खननका कारण बनेको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित राय यादवको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपूर्ति र अवैध उत्खनन बन्द हुनुपर्ने माग राख्दै राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीको गोली लागि सिंहकोे घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले आफूमाथि ढुंगामुढा भएपछि गोली चलाउनुपरेको बताए पनि स्थानीयले भने प्रदर्शनपछि फर्कने क्रममा घटना भएको बताएका छन् ।सिंहका बुबा जीवछनारायण सिंहले भने, ‘अश्रु ग्यास प्रहार भएपछि सबैजना आँखा धोएर फर्किइरहेका थिए । त्यतिकैमा अचानक गोली चल्यो र सरोजको टाउकोमा गोली लाग्यो ।’

प्रदर्शन सुरु भएको २० मिनेटमै प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको वडाध्यक्ष राजकरण महतोले बताए । ‘बाँके खोलाको भंगालोमा डुबेर मृत्यु भएका १२ वर्षीय बालकको परिवारलाई उचित क्षतिपूर्ति र अवैध उत्खनन बन्द गर्नुपर्ने भन्दै स्थानीयले नगरपालिकासँग गुहार लगायो,’ उनले भने, ‘तर नगरपालिकाले सुनवाइ नगरेपछि हामी बालकको शव बोकरे राजमार्ग पुग्यौं ।’ प्रहरीले ताकेर टाउकोमा गोली चलाएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार