radio icon

Live Radio

जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न थप्ने अडानबाट अमेरिकी राष्ट्रपति ट्रम्प पछि हटे

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगामी वर्ष हुने जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न थप्ने अडानबाट पछि हटेका छन् । नागरिकतासम्बन्धी प्रश्नमा अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएको भन्दै त्यसको सट्टा कार्यकारी आदेशमार्फत् उनले सूचना संकलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन् ।

जनगणनामा नागरिकतासम्बन्धी एउटा प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुनमा रोकिदिएपछि ट्रम्प आफूले लामो समयअघि देखि उठाउँदै आएको प्रश्नबाट पछि हटेका हुन् । उनले अमेरिकाको जनसंख्याको नागरिकताको अवस्था निर्क्यौल गर्ने प्रयासबाट पछाडि नहटेको भन्दै उनले सरकारी निकायले सबैको नागरिकतासम्बन्धी कागजात उपलब्ध गराउनुपर्ने बताए ।

ह्वाइट हाउसमा ट्रम्पले भने, ‘आजको कार्यकारी आदेशसँगै अमेरिकामा कति नागरिक, अनागरिक र गैरकानुनी मानिसहरू बसिरहेका छन् भन्ने विषयमा वास्तविक रूपमा सूचना पाउन सन् २०२० को जनगणनाबाट सुनिश्चित हुनेछ।’ अमेरिकी महान्यायाधिवक्ता विलियम बारले नागरिकतासम्बन्धी प्रश्न नराख्ने निर्णय कुनै कानुनी अवरोधका कारण नभई व्यवस्थापकीय विषय भएको बताए ।

उनले नागरिकतासम्बन्धी प्रश्न समावेश गर्न प्रशासनका लागि पर्याप्त आधार रहेको पनि बताए । तर, अदालतको आदेशलाई उल्लेख गर्दै महान्यायाधिवक्ता बारले जनगणना गर्ने क्षमतामा असर नपार्न नयाँ निर्णय लागू गर्नुको विकल्प नभएको जनाए ।

नागरिकतासम्बन्धी प्रश्न विनै जनगणनाका प्रश्नावलीहरू छापिन सुरू भइसकेको छ। गत महिना सर्वोच्च अदालतले नागरिकतासम्बन्धी प्रश्न अस्वाभाविक देखिएको भन्दै जनगणना ब्युरोलाई मुद्दा फिर्ता पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार