radio icon

Live Radio

बाढी पहिरो अपडेटः देशभर मृत्यु हुनेको संख्या १३ पुग्यो, १० जना बेपत्ता

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं । लगातारको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १३ पुगेको छ भने १० जना बेपत्ता छन् ।  काठमाडौँको मूलपानीमा घरको पर्खाल भत्कँदा एकै परिवारका एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

काभ्रेमा पहिरोले घर थिच्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । सो घटनामा अन्य दुई जना घाइते भएका छन् । भोजपुरमा शौच बसेका एक बालकको चर्पीसहित पहिरोमा पुरिएर ज्यान गएको छ भने भर भत्कँदा एक बृद्धको मृत्यु भएको छ ।

ललितपुरको बागमती गाउँपालिकामा पनि पहिरोले घर थिच्दा एक बालकको ज्यान गएको छ । सिन्धुली, पर्सा, ललितपुर, धादिङ र रामेछापमा एक/एक जनाको ज्यान गएको छ ।

खोटाङमा तीन जना बेपत्ता छन् । मोरङ, सुनसरी, महोत्तरी, पाँचथर र काठमाडौँमा एक एक जना बेपत्ता छन् । देशभरका घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पानी पर्ने क्रम नरोकिएकोले क्षति अझै बढ्न सक्ने अनुमान छ । सरकारले सुरक्षीत रहन नदी तटीय तथा बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

बाढी पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्रीको श्रदाञ्जली

प्र्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाले आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक संजाल ट्विटरमा उहाँले आजसम्म बाढी पहिरोबाट ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।

सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारीबीच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार