radio icon

Live Radio

ओली सरकारले मुलुकको स्वाभिमान बन्धक बनाएको अधिकारकर्मीको आरोप

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौँ । भारतबाट आयात हुने तरकारी तथा फलफुल विषादीयुक्त रहेको कुरा लामो समय देखि उठेको विषय हो । यदि विषादी परीक्षण गरेर मात्रै तरकारी तथा फलफुल आयात गर्ने निर्णय लागु गर्न सके सरकारको लोकप्रियता शिखरमा पुग्ने कुरामा दुई मत थिएन ।

दुई तिहाई बहुमतको ओली सरकारले यो नियम लागु गर्ने हिम्मत त देखायो । तर सरकारको यो हिम्मत केही दिन पनि टिक्न सकेन । आवश्यक पूर्वाधार नै तयार नभएको कारण देखाएर सरकारले विषादी परीक्षणको निर्णय फिर्ता लिएको घोषणा ग¥यो ।  तर विषादी परीक्षण पूर्वाधारको अभावमा रोकेको सरकारी दाबी आम नागरिकसँगै प्रतिपक्षी दलले मान्ने कुरा त परै जाओस् सत्तारुढ दलकै जिम्मेबार नेताहरु समेत मान्न तयार भएनन् ।

उनीहरुले यसलाई भारतीय दबाब र हस्तक्षेपको निरन्तरताको रुपमा व्याख्या गरे । किनभने भारतीय दूतावासले विषादी परीक्षणको निर्णयमा आपत्ति जनाउँदै नेपाल सरकारलाई पत्र पठाएको कुरा बाहिर आइसकेको थियो । अहिले तकारीमा विषादी परीक्षणको निर्णय भारतकै दबाबमा रोक्न बाध्य भएको आरोप ओली सरकालाई लागिरहेको छ । यहीबीच यो आरोपमा बल पुगाउने काम आज कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालको अभिव्यक्तिले गरेको छ ।

उहाँले केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गर्दै भारतबाट आयात हुने तरकारीमा प्रचार गरिएजस्तो विषादी नरहेको दाबी गरेर भारतीय दबाबको आरोपमाथि बल पुगाउनुभएको हो । मन्त्री खनालले दैनिक तरकारी तथा फलफूलको विषादी परीक्षणको काम भइरहेकाले सर्वसाधारणले पनि डराउनुपर्ने स्थीती नरहेको समेत बताउनुभयो ।

आफ्नो देशका नागरिकको भान्सामा विषादीरहित तरकारी पु¥याउने पवित्र उदेश्य भएपनि विषादी परीक्षण लागु गर्ने र स्थगित गर्ने निर्णयले सरकारको छवि उदांगो भएको छ । यो पछिल्लो घटनाले संविधान जारीपछि नाकाबन्दी सहेर पनि भारत सामू नझुकेर चट्टानी अडान व्यक्त गर्नुभएका प्रधानमन्त्री ओलीको राष्ट्रवाद अहिले खस्केको छ । विषादी परीक्षण, भारतले पठाएको पत्र लगायतबारे परिपक्व निर्णय हुन नसक्दा मन्त्रीहरु एक अर्कालाई निम्छरा आरोप लगाइरहेका छन् भने प्रधानमन्त्रीले जनतासामु माफी माग्नुपर्ने स्थिति निम्तिएको छ ।

नेताहरुले जतिसुकै राष्ट्रवाद र सार्वभौम राष्ट्रको कुरा गरे पनि भारतले लामो समयदेखि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छोडेको छैन । पछिल्लो पटकको तरकारीमा विषादी परीक्षणको विषय पनि त्यसकै निरन्तरता हो भन्नेहरु धेरै छन् । यो कुरालाई कृषि मन्त्रीको अभिव्यत्तिले प्रष्टै पारेको राष्ट्रय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाई छ । उहाँले ओली सरकारले मुलुकको राष्ट्रिय स्वाभिमानलाई बन्धक पारेको आरोप लगाउनुभयो ।

नाकाबन्दीको जुधेर सामना गरेका प्रधानमन्त्री ओलीबाट भारतीय हस्तक्षेप कम हुने अपेक्षा नेपाली जनताहरुले गरेका थिए । तर जुन जोगी आए पनि कानै चिरिएको भनेझैँ हाल सत्ताको बागडोर सम्हालीरहेका ओलीबाट पनि त्यो प्राप्त नहुने चिन्ता आम नागरिकमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार