radio icon

Live Radio

मनसुन भोलि पनि अति सक्रिय, सरकारको अक्रमण्यताका कारण ठूलो क्षति

  • radionrn
  • प्रकाशित मिति : शनिबार, असार २८, २०७६


काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी हालसम्म ३३ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १५ जना भन्दा बढी बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुर र भोजपुरमा पाँच÷पाँच जना, काठमाडौँ, खोटाङ र काभ्रेमा तीन/तीन जना, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई÷दुई जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एक जना गरी ३३ जनाको ज्यान गएको हो ।
बाढी पहिरोबाट मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक÷एक जना गरी १२ जना घाइते भएका छन् ।

सिन्धुलीमा ४ जना, काठमाडौँ, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा एकरएक जना गरी १५ जना वेपत्ता भएका छन् । यस्तै पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । बाढी तथा डुबानका कारण हजारौँ परिवार बिस्थापित भएका छन् ।

भारतीय पक्षले पानी थुन्नका लागि बनाएका बाँधका ढोका नखोल्दा रौतहट जिल्लामा डुबानको समस्या थप विकराल बनेको छ । लगातारको वर्षाका कारण डुबानमा परेको सदमुकाम गौरसहितका क्षेत्रमा भारतीय पक्षले बाँधका ढोका नखोल्दा थप पानीको सतह बढेको हो । प्रमुख जिल्ला अधिकारी किरण थापा भारत तिर रहेका बाँधका ढोका नखोलिँदा थप समस्या भएको बताए ।

भारतीय पक्षको यस प्रवृत्तिको सामामाजिक सञ्जालमा विरोध भइरहेको छ । तर सरकारले भने भारतसँग कुटनीतिक पहल गरेर बाँधका ढोका खोल्न लगाइएको दाबी गरेको छ । बाँध खोलेसँगै अपरान्हपछि पानीको सतह घट्दै गएको गृहसचिव प्रेमकुमार राइले बताउनुभयो ।

हरेक वर्षातमा भारतले बाँध नखोलिदिने गरेका कारण नेपाली बस्तीहरु डुबानमा परेको चर्चा हुने गर्दछ । तर यो समस्या समाधानका लागि नेपाल सरकारले आवश्यक प्रबन्ध अहिलेसम्म गरेको छैन । भारतले बाँध नखोलेका कारण नेपाली बस्ती डुबानमा परेको भन्दै विरोध भइरहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवं प्रतिनिधिसभा सदस्य अनिल झाले भने नेपाल सरकारको अकर्मण्यताका कारण नेपालपट्टीका बस्तीहरु डुबानमा परेको आरोप लगाउनुभएको छ ।

उहाँले भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको बताउँदै नेपालले पनि बाँध बनाउनु पर्ने बताउनुभयो । हरेक कुरामा भारतलाई सरापेर केही नहुने उहाँको भनाई थियो ।

यस्तै सरकारले अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।

आज गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले प्रदेश सरकारसँग समन्वयन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पूर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । बैठकले बर्षा नरोकिए अझै क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि आग्रह गरेको छ ।

यस्तै देशका अधिकांश स्थानमा मनसुनी वर्षा आज राति र भोलि पनि जारी रहने जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ । मनसुन अति सक्रिय अवस्थामा रहने भएकोले आज राति र भोलि पनि भारी वर्षा हुने मौसमविदको भनाई छ ।

लगातार पानी पर्ने भएका कारण देशका साना तथा ठूला खोला तथा नदीमा पानीको सतह बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढी, डुबान तथा कटानको सम्भावना रहेकाले सजग हुन भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार