radio icon

Live Radio

सप्तकोशीमा पानीको तह घट्यो, सप्तरीकाप्रभावित सुरक्षित स्थानमा

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २९, २०७६


सप्तरी । सप्तकोशी नदीमा पानीको बहाव घटेको छ । बिहीबारदेखिको लगातार वर्षाका कारण शनिबार राति ३ लाख ७५ हजार क्युसेकभन्दा बढी पुगेको पानीको तह आइतबार बिहान ८ बजे तीन लाखभन्दा तल झरेको  हो ।

शनिबार मध्यरातमा लिइएको आँकडामा कोशीमा पानीको तह ३ लाख ७९ हजार क्युसेक थियो । तर, आइतबार बिहानको आँकडामा पानीको तह करिब एक लाख क्युसेकले घटेको छ । सो अनुसार कोशीमा दुई लाख ६४ हजार क्युसेक पानी बगिरहेको छ ।
बिस्तारै वर्षामा कमी आएकोले कोशी नदीमा पानीको तह घट्दै गएको हो ।

सप्तरीमा १५ सय घर डुवानमा, तीन सय विस्थापित

यसैबीच वर्षाका कारण आएको बाढी तथा डुवानका कारण सप्तरीमा एक हजार पाँच सय घर डुवानमा परेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले करिब तीन सय परिवार विस्थापित भएको जानकारी दिनुभयो ।

हालसम्म सप्तरीमा मानवीय क्षति नभएको र विस्थापित तथा डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा ल्याइसकिएको उहाँले बताउनुभयो । सप्तरीको खाँडो खोलाले डुबानमा पारेको तिलाठी–कोइलाडी क्षेत्रका करिब तीन सय परिवारलाई नेपाली सेनाको टोलीले शनिबार मध्यरातमा सुरक्षित स्थानमा सारेको छ । स्थानीयको अवरोधका कारण सो क्षेत्रमा बाँध बनाउन नसक्दा वर्सेनि डुवानमा पर्दै आएको छ । यस वर्ष पनि खाँडो खोलामा आएको बाढीका कारण उक्त क्षेत्र पूरै डुवानमा परेको हो।

सप्तरीका प्रमुख जिल्ला अिधकारी पौडेलले यस क्षेत्रमा रहेका प्रभावितको लागि आवश्यक त्रिपाल तथा अन्य राहतका सामाग्री पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । बोदेबर्साइन नगरपालिका र बलानविहुल गाउँपालिकाको सीमा भएर बग्ने विहुल खोलाको बाढी पस्दा बलानविहुल–३ का ३० घरमा क्षति पुगेको छ ।

हनुमाननगर कंकालिनी–१२ र १३ नम्बर वडामा कोशी र खाँडो खोलाका कारण १ सय ५० भन्दा बढी घर डुवानमा परेका छन ्। यस क्षेत्रका प्रभावितहरूका लागि एक हजार त्रिपाल वितरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
त्रियुगा नदीको बाँध भत्किँदा सप्तकोशी गाउँपालिका–६ र ७ मा करिब ३ सय घर डुवानमा परेका छन् ।

 

भारतीय च्यानलका कारण बढी डुबान

भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका छन् ।

कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म १८ किलोमिटर नेपाली भूभागमा रहेको पश्चिमी तटबन्धमा जोखिम बढेको छ । तटबन्ध नाघेर वा कटान भएर कोसीको पानी बस्तीमा पस्यो भने हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाका गरी दुई लाखभन्दा बढी जनताको उठिबास हुने छ ।

पश्चिमी तटबन्ध बचाउन तत्काल कोसीको धार परिवर्तन गरी मध्य भागमा लैजानुपर्ने जानकारहरूले बताएका छन् ।  कोसीको बहाव शनिबार साँझ करिब तीन लाख क्युसेक प्रतिसेकेन्ड थियो भने आइतबार एक लाख क्युसेक प्रतिसेकेन्डले कम भएको छ। कोसीको धार पश्चिमतर्फ फर्काउन भारतीय पक्षले चार वर्षअघि एकतर्फी रूपमा पाइलट च्यानल निर्माण गरेको हो ।

कोसीको पानी विगतमा ब्यारेजभन्दा दक्षिणपूर्वी तटबन्धको छेउ भएर बग्दै आएको थियो । पूर्वी तटबन्ध छेउबाट नदी बग्दा एक किलोमिटर दक्षिणमै भारतीय सीमा पर्ने भएकाले बस्ती जोगाउन भारतीय कोसी योजनाले धार परिवर्तन गर्न पाइलट च्यानल बनाएको हो । योजनाले ब्यारेजको २८ नम्बर ढोकानजिक कोसीको बीचबाट पाइलट च्यानल खनी पश्चिमतर्फ धार फर्काएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको डलबामा कोसीको बाढी पश्चिमी तटबन्ध नाघेर बाहिर बग्न थालेको छ । ‘ओभरफलो हुन थालेको छ, तत्काल नियन्त्रण नगरिए ठूलो खतरा हुन सक्छ,’ प्रजिअ पौडेलले बताउनुभयो ।
‘प्रजिअदेखि प्रधानमन्त्री कार्यालयसम्म पत्राचार ग¥यौं तर केही लागेन,’ उहाँले भन्नुभयोे, ‘भारतीय पक्षले एकतर्फी पाइलट च्यानल खनेर कोसीको धार फर्काइएको हो ।

कोसी ब्यारेजभन्दा तल पूर्वी भाग नजिकै भारतीय सीमा छ भने पश्चिमी भागमा ब्यारेजदेखि १८ किलोमिटरसम्म नेपाली भूभागमा तटबन्ध छ । सन् १९८८ मा सप्तरीको योगिनियामा कोसीको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा ठूलो धनजनको क्षति भएको थियो ।

त्यसपछि नदी पश्चिमी तटबन्ध छेउबाटै बगेको थियो । सन २००० मा कोसी नदी धार परिवर्तन गर्दै पूर्वी तटबन्धछेउ भएर भारततर्फ सोझिएको थियो । पूर्वी तटबन्ध नजिकबाट बगिरहेको कोसीलाई ब्यारेजभन्दा तलको भागमा पाइलट च्यानल खनेर भारतले पश्चिमतर्फै फर्काइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार