radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बाढी पीडितका लागि आ–आफ्नो स्तरबाट सहयोग गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवको आह्वान

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६


काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी पीडितका लागि आ–आफ्नो स्तरबाट सहयोग गर्न आह्वान गर्नुभएको छ ।  प्रेस संगठन धनुषाले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई जसले जे सकिन्छ त्यहीँबाट सहयोग गर्न आग्रह गर्नुभएको हो ।

उहाँले वर्तमान सरकार यसमा गम्भीर भई काम गरिरहेको समेत जानकारी दिनुभयो । अर्को एक प्रसंगमा मन्त्री यादवले सडक, पुलपुलेसा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारका कारण बाढीले विध्वंश मच्चाएको भन्दै त्यस्ता ठेकेदारलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । बाढी पीडितको अवस्था निरीक्षण गर्न मन्त्री यादव गृह जिल्ला धनुषा पुग्नुभएको हो ।

उता, प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यले बाढी पीडितलाई एक महिना तलब दिने भएका छन् । अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका हुन् । आज बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।

बैठकले प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन पनि आग्रह गरेको छ ।
यसैबिच, मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण आजसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । पछिल्लो तथ्यांकअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र ३ हजार ३६६ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसन्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताउनुभयो ।  अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ ।

अहिलेसम्म बाढी–पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहतकार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।

यस्तै- उदयपुर गाईघाट, खोटाङ–हलेसी–तुवाचुङ, महोत्तरी–जनकपुर–जलेश्वर सिन्धुली–मध्यपहाडी लोकमार्ग, कान्ति लोकपथ (हेटौंडा), कुलेखानी–फाखेल–फर्पिङ, बेसीसहर–मनाङ, धुन्चे–रसुवागढी सडक खुलाउने प्रयास जारी रहेको सरकारले जनाएको छ ।
यस्तै, हेटौंडा–दक्षिणकाली, भालुवान–प्यूठान, गोरखाको बाह्रकिलो–बारपाक तथा साघारादेखि सिरहा जाने हुलाकी राजमार्गसमेत खुलाउने प्रयास भइरहेको छ । केही सडक भने सन्चालनमा आइसकेको गृह मन्त्रालयले जनाएको छ ।
यता तीनै तहका सरकारले राहत वितरण कार्यलाई तीव्रता दिएका छन् ।

त्रिपाल, खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायताका क्षेत्रमा काम गर्ने संघ–संस्थाले राहत वितरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार