radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

कञ्चनपुरको जंगलमा विप्लवको लडाकू प्रशिक्षण शिविर, स्थानीय प्रशासन बेखबर

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६


काठमाडौँ – सरकार र प्रतिवन्धित विप्लव समूहबीच वार्ताको वातावरण बनिरहेको चर्चा चलिरहेका बेला हिजो सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमा विप्लव समूहबारे दिएको अभिव्यक्तिले बजार तात्यो ।

पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटा भनिरहेका थिए ‘कसैको शक्ति सञ्चयका लागि वार्ता हुँदैन ।’
शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चितता भए मात्रै विप्लव समूहसँग वार्ता हुने सञ्चारमन्त्रीको अभिव्यक्तिले वार्ताको माहोल बनिरहेको हल्ला निराधार रहेको प्रष्ट पारिरहेको थियो ।

सञ्चारमन्त्रीले यस्तो भनिरहँदा विप्लव समूहका नेताहरुले पनि यथास्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नरहेको अभिव्यक्ति सञ्चारमाध्यममार्फत सार्वजनिक गरे ।

विप्लव समूह र सरकारबीच दूरी बढेको अनुमानकाबीच बिहीबार साँझ धनगढीमा शक्तिशाली बम विष्फोट भयो । घटनामा विप्लव समूहका एक लडाकूको ज्यान गयो भने अर्का कार्यकर्ता अहिलेसम्म अचेत छन् ।

विष्फोटमा होटल सञ्चालकसहित तिनजना निर्दाेष नागरिक पनि गम्भीर घाइते भएका छन् । यो घटनाले प्रतिबन्धित विप्लव समूहले सरकारविरुद्ध हिंसाको बाटो तय गरेको यसकारण पनि प्रष्ट हुन्छ कि उसले विष्फोट भएको घटनास्थल नजिकै कञ्चनपुरको एक जंगलमा लडाकू शिविर चलाइरहेको विषय बाहिर आएको छ ।

सोही शिविरमा लडाकू प्रशिक्षक रहेका रामबहादुर सिंहको असावधानीबस भएको विष्फोटमा मृत्यु भयो । विप्लव समूहका एक नेताले कञ्चनपुरको पुनर्वास जंगलमा पाँच दिने लडाकू प्रशिक्षण शिविर सञ्चालन गरिएको र हिजोको विष्फोट घटनापछि प्रशिक्षण रोकिएको जानकारी दिनुभयो ।

तर, यसबारे स्थानीय प्रशासनले कुनै सुइको नपाएको जनाएको छ । कञ्चनपुरका एसपी दिनेश आचार्यले जिल्लाभित्र विप्लव समूहको कुनै लडाकू प्रशिक्षण शिविर आयोजना भएको सूचना आफूहरुलाई नभएको बताउनुभयो ।

यसअघि काठमाडौँका दुई स्थानमा पनि आफैले बनाउँदै गरेको बम विष्फोट हुँदा विप्लव समूहका चारजना कार्यकर्ताको मृत्यु भएको थियो । यो घटना कसरी घट्यो भन्ने बारे पार्टीका महासचिव विप्लवले छानबिन गरेर सत्य बाहिर ल्याउने भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।

तर फेरि पनि उस्तै घटनामा कार्यकर्ताको मृत्यु भएको र सर्वसाधारण नागरिक समेत घाइते भएपछि विप्लव समूहले यो घटनाको मुख्य जिम्मेबारी ओली सरकारले लिनुपर्ने बताएको छ ।

विप्लव समूह र सरकारबीच वार्ता गरेर समस्या समाधानका लागि जति ढिलो भयो त्यति नै धेरै नेपालीको ज्यान जाने खतरा यी दुवैका व्यवहारले देखाइरहेको छ ।

त्यसैले अनाहकमै नागरिकको ज्यान गुम्ने घटना बढाउनुभन्दा वार्ता गरेर समस्या समाधान गर्न राज्य र विद्रोही पक्ष दुवै गम्भीर बन्नुपर्छ । मुलुकले फेरि पनि द्वन्द्व चाहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार