radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

घुस लेनदेनमा कर्मचारी पूर्ण सक्रिय, झन्डै दुई सय कर्मचारी पक्राउ

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ४, २०७६


काठमाडौंँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनमा संलग्न १६१ राष्ट्रसेवक कर्मचारीलाई पक्राउ गरी गत आर्थिक वर्षमा कारबाही गरेको छ । घुससहित पक्राउ पर्नेमा विशिष्ट श्रेणीका राष्ट्रसेवकदेखि कार्यालय सहयोगीसम्म संलग्न रहेको आयोगले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा उल्लेख छ ।

अख्तियारले काठमाडौँमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गर्दै सबैभन्दा बढी नायब सुब्बासरहका राष्ट्रसेवक घुससहित पक्राउ परेको जनाएको छ । घुससहित पक्राउ पर्ने नायब सुब्बा र सो सरहका कर्मचारीको सङ्ख्या ४७ छन् । जसमध्ये २३ जना प्रशासन, २१ जना प्राविधिक र तीन जना प्रहरी छन् । सबैभन्दा कम विशिष्ठ श्रेणीका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले समाजमा व्याप्त भ्रष्टाचारको प्रभाव राष्ट्रसेवकमा अझै बढी रहेको तथ्याङ्कले देखाएको बताउनुभयो । उहाँले सेवाग्राहीको गुनासो र उजुरी मात्रैको आधारमा आयोगले गरेको ‘स्टिङ’मा उक्त सङ्ख्यामा कर्मचारी घुससहित पक्राउ परेको प्रस्ट्याउनुभयो । घुस लेनदेनमा खरिदार वा कार्यालय सहयोगी मात्रै सक्रिय नभई सहसचिव, उपसचिव र शाखा अधिकृत श्रेणीका राष्ट्रसेवकको सङ्ख्या पनि उल्लेख्य छन् ।

आयोगका अनुसार घुस लेनदेनमा संलग्नमध्ये प्रशासनतर्फका ६३, प्राविधिकका ५३ र प्रहरीतर्फका ३३ जना छन् । यस्तै निर्वाचित एवं मनोनित पदाधिकारी सात जनालाई पनि अख्तियारले घुस लेनदेन गरिरहँदा नियन्त्रणमा लिएको जानकारी दिइएको छ । त्यसैगरी ३२ जना बिचौलियालगायत अन्य व्यक्ति घुस लेनदेनमा अख्तियारको नियन्त्रणमा परेका छन् । घुस लेनदेनमा गृह प्रशासन मातहातका कर्मचारीको सङ्ख्या अधिक छन् । नागरिकता र राहदानी बनाउन, प्रहरीमा मुद्दा दर्ता गर्न, दुर्घटनालगायतको काम लिएर यहाँ सेवाग्राहीको चाप बढी हुन्छ । अख्तियारका प्रवक्ता कोइरालाले गृह मातहातका यी निकायका २७ जना कर्मचारी घुस लेनदेन कारबाहीमा परेको बताउनुभयो ।

स्थानीय तह गठन भएपछि सङ्घीय मामिला मातहात गएका गाउँ, नगरका २६ जना कर्मचारी घुस लेनदेनमा पक्राउ परेका हुन् । आयोगको तथ्याङ्कअनुसार सङ्घीय मामिला मातहातको निकाय दोस्रो सबैभन्दा बढी भ्रष्टाचार हुने थलो बनेको छ । विगतका वर्षमा मालपोत, भूमी व्यवस्था कार्यालयमा बढी भ्रष्टाचार रहेको गुनासो हुँदा अख्तियारले उक्त निकाय मातहातका २२ जना कर्मचारी गत आवमा घुस लिँदै गर्दा कारबाहीमा परेको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मातहातका सात जना कर्मचारी घुस लेनदेनमा अख्तियारको नियन्त्रणमा परे ।
अख्तियारको तथ्याङ्कमा राष्ट्रसेवक कर्मचारीको गैरकानुनी सम्पत्ति आर्जन, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रलगायत मुद्दाका कर्मचारीको सङ्ख्या जोडिएको छैन । आयोगले झुठा शैक्षिक प्रमाणपत्रको ८९, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीको ३७, गैरकानुनी लाभ वा हानिका ३३, गैरकानुनी सम्पत्ति आर्जनको १२, राजस्व चुहावटका नौ र विविध शीर्षकको ३३ वटा गरी ३५१ वटा मुद्दाको निर्णय गरी कारबाही अगाडि बढाएको छ । प्रवक्ता कोइरालाले भन्नुभयो, “समग्रमा आर्थिक अनियमितता र अख्तियारको दुरुपयोगमा परेका कर्मचारीकोे विवरण आएको छैन । ”

दुई अर्बको अनियमितता

आयोगले गत आवमा एक हजार ५०० घुस लेनदेनको मुद्दादेखि दुई अर्ब रुपियाँभन्दा बढीको अनियमितताको मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ । आयोगका प्रवक्ता कोइरालाले सबैभन्दा बढी सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब १६ करोड भ्रष्टाचार भएको ठहरसहित २१ जनामाथि सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाउनुभयो ।

गत आवमा आयोगले एक करोड रुपियाँभन्दा बढी आर्थिक अनियमितता भएको २६ वटा मुद्दामा सजायको मागसहित आरोपपत्र दायर गरिएको छ । आयोगकै बहालवाला आयुक्त राजनारायण पाठकमाथि घुस लेनदेन प्रकरणमा ७८ लाख र नेपाल राष्ट्र बैङ्कका तात्कालीन गभर्नर तिलक रावलमाथि ९१ लाख अनियमितता गरेको दाबीसहित आयोगले सजायको माग गरेको छ । रावलले पोलिमर नोट छपाइमा गैरकानुनी लाभ हानि गर्नुभएको आयोगको दाबी छ ।

इन्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको दाबीसहित सर्लाहीमा कार्यरत एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजीबाबु यादव घुस लिएको आरोपमा आयोगको नियन्त्रणमा पर्नुभएको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले सेवाग्राहीबाट ७५ हजार घुस लिएको अवस्थामा इन्जिनियर यादवलाई मलङ्गवा १० स्थित अशोका होटेलबाट पक्राउ गरेको जानकारी दिनुभयो । इन्जिनियर यादवले सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराएकोमा सेवाग्राहीबाट घुस लिएको आयोगको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार