radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मन्त्री र सचिवका कारण मेलम्चीको पानी राजधानी आउन नसकेको सांसदहरुको आरोप

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन २२, २०७६


काठमाडौं । खानेपानी मन्त्री बिना मगरले गत वर्ष दसैँ अगाडि नै काठमाडौँमा मेलम्चीको पानी झार्ने दाबी गर्नुभएको थियो ।  तर अर्काे वर्षको दसैँ आउनै थाल्यो, मन्त्री मगरले भनेको मेलम्चीको पानी काठमाडौँ पुग्न अझै कति समय लाग्ने हो त्यसको भने कुनै ठेगान छैन ।

अघिल्लो वर्षको दसैँ अघि नै मेलम्चीको पानी काठमाडौँ झार्ने दाबी तुहिएपछि मन्त्री मगर आलोचनाको घेराबन्दीमा पर्नुभएको छ । जनस्तरबाट आलोचनाको शिकार भएकी मन्त्री मगरलाई आज प्रतिनिधिसभामा पनि सांसदहरुले घेरामा हाले ।

विपक्षी कांग्रेसका सांसदहरुले मन्त्री मगरकै कारण राजधानीबासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाए ।
कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री मगर र सचिवका कारण राजधानी आउन नपाएको आरोप लगाउनुभयो ।

काठमाडौँका कतिपय स्थानका बासिन्दा अहिले पनि एक गाग्री पानीका लागि बिहानैदेखि छटपटाएर हिँड्ने गरेको विषय सांसदहरुले सदनमा उठाएका थिए ।
तर मन्त्री मगरले भने मेलम्चीको पानीका विषयमा सदनमा धेरै पटक जवाफ दिइसकेकोले अहिले उत्तर दोहो¥याउन नचाहेको जवाफ दिनुभयो ।
उहाँले सुरुमा तीन वर्षमा सम्पन्न हुने भनिएको योजना यत्तिका वर्षसम्म धकेल्ने षडयन्त्रकारीहरुसँग आफूले जुधेर सामना गरिरहेको सुनाउनुभयो ।

यसअघि सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मेलम्चीको पानी काठमाडौँ ल्याउन नदिन ठूलो चलखेल भइरहेको दाबी गर्नुभएको थियो
सोही आशयको दाबी आज उहाँकी बुहारी खानेपानी मन्त्री बिना मगरले पनि गर्नुभयो । बिगतमा स्वार्थ समूहले चलखेल गरेका कारण मेलम्चीको काममा बाधा पुगेको पनि होला ।
तर के अहिलेको दुई तिहाईको सरकार पनि मेलम्चीको पानी काठमाडौँ ल्याउन नदिने स्वार्थ समूहसँग पराजित भएकै हो त ? मुलुकले ओली सरकार र सत्ताधारी दलसँग जवाफ चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार