radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

हामीले लामो स्वास फेरे पनि प्रचण्ड तर्सन थालेः कमल थापा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६


काठमाडौँ –दलहरुलाई शासनसत्ता सुम्पेर आम नागरिक सरह जीवन यापन गरिरहनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई लिएर नेपालको राजनीति बेला बेला तरंगित भइरहन्छ ।

सम्भवतः पूर्वराजा शाहले राजगद्दी परित्याग गरेपछि मुलुकको विकासका लागि दलहरुले काम गर्न नसकेको चिन्ता जाहेर गर्नुबाहेक अरु कुनै राजनीतिक वक्तव्य अहिलेसम्म दिनुभएको छैन ।

तर राजनीतिक दलका नेताहरु बेला बेला शाहलाई धम्कीपूर्ण आशयका अभिव्यक्ति दिँदै आएका छन् । खास गरी १० वर्षे जनयुद्धको नेतृत्व गरेर ६२/६३ को जनआन्दोलनपछि सत्तामा आएका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ धम्कीपूर्ण आशयको अभिव्यक्ति दिन अग्रपंङ्तिमा छन् ।

कहिले होटल होटलमा किन नाचेको भन्दै प्रश्न गर्ने प्रचण्डले पछिल्लो पटक पूर्वराजालाई नागार्जुनबाट खेद्ने र राजसंस्थाका पक्षधरलाई खरानी पार्ने चेतावनी दिनुभयो ।

यसअघि पनि प्रचण्डले पूर्वराजाले एक होटलमा पारिवारिक जमघट गरेको विषयमा कडा आपत्ति प्रकट गर्नुभएको थियो । आम नागरिक सरह पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निजी जिन्दगी आफ्नो तरिकाले बिताउने अधिकार छ । तर प्रचण्डले उहाँलाई होटल होटलमा गएर किन नाचेको भन्दै संविधान र कानुन विरोधी अभिव्यक्ति दिनुभयो ।

कहिले होटलमा किन नाचेको त कहिले नागार्जुनबाट पनि खेद्ने अनि समर्थकलाई खरानी बनाउने चेतावनी दिन थालेपछि प्रचण्ड आलोचनाका घेरामा परेका छन् । सामाजिक सञ्जालमा प्रचण्डको चर्काे विरोध भइरहँदा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रचण्ड अभिव्यक्तिका विषयमा सार्वजनिक रुपमा आपत्ति प्रकट गर्नुभएको छ ।

राप्रपाको प्रशिक्षण विभागद्वारा धुलीखेलमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताउनुभयो । उहाँले राजसंस्थाका पक्षधरहरुले अलि जोडले स्वास फेरेपनि तर्सिहाल्ने प्रचण्डले खरानी पार्छु भन्नु खेदजनक रहेको बताउनुभयो ।

थापाले कांग्रेस र कम्युनिष्ट पटक —पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरिने दृढता प्रकट गर्नुभयो । राजसंस्थाको वकालत गर्नेहरुलाई प्रचण्डले दासको संज्ञा दिएकोमा पनि अध्यक्ष थापाले आपत्ति प्रकट गर्नुभयो ।

पूर्वराजा र राजसंस्थाको विषयलाई लिएर प्रचण्ड र कमल थापाबीच दोहोरी चलेको विषय मात्रै होइन यतिबेला मुलुकका उपप्रधानमन्त्री इश्वर पोखरेलले पूर्व राजासँग भेट गरेको विषय पनि अहिले चर्चाको घेरामा छ ।

विभिन्न सञ्चार माध्यमले यो विषय बाहिर ल्याएपछि मन्त्री पोखरेलले आफूले पूर्वराजालाई भेटेको भए पुष्टि गर्न सार्वजनिक चुनौती दिनुपरेको छ ।

पूर्वराजाको विषयलाई लिएर दलहरुभित्र फैलिएको यो शंसयलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार