radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मुद्दा चलेका व्यक्तिहरु धमाधम आत्महत्या गर्दैः अख्तियार भन्छ, ‘अहिले केही बोल्न मिल्दैन’

  • radionrn
  • प्रकाशित मिति : सोमवार, साउन २७, २०७६


काठमाडौँ – गत साउन ३ गते त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरे ।

त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हामफालेपछि उनको जीवनलिला समाप्त भयो । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका पाण्डेले कार्यालयबाटै हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

त्यो घटनाको चर्चा सेलाउन नपाउँदै साउन १२ गते बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको आठौँ तलाबाट हाम फालर आत्महत्या गरको प्रहरीले जनाएको छ । यद्यपि यो घटना आत्महत्या हो वा होइन भन्नेमा अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ ।

यी दुई घटनाबारे प्रहरीले अध्ययन अनुसन्धान गरिरहेकै बखत आइतबार यस्तै प्रकृतिको अर्काे एउटा घटना भएको छ । उदयपुर घर भएका एक पूर्व सरकारी कर्मचारीले अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाच्नू’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।

मालपोत कार्यालय कलंकीमा कार्यरत रहेका बेला भ्रष्टाचार मुद्दा लागि निलम्बनमा परेका हरि प्रसाद आर्चायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई ‘दुई सय वर्ष बाच्नू’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

अख्तियारमा मुद्दा परेका व्यक्तिहरुले धमाधम आत्महत्याको बाटो रोज्न थालेपछि चिन्ता व्यक्त गरिएको छ । त्यसमा पनि एक महिना नबित्तै उस्तै प्रकृतिका तीनवटा आत्महत्याका घटना भएपछि मनोविदहरु झस्किएका हुन् ।

अख्तियारमा मुद्दा परेर छानबिनकै क्रममा रहेका व्यक्तिहरुले किन आत्महत्याको बाटो रोजेका होलान्? मनोविद सनम पौडेल यसलाई कमजोर मनस्थितिको उपजका रुपमा विश्लेषण गर्नुहुन्छ । सामाजिक प्रतिष्ठा नांगिएको महसुस भएपछि यस्ता घटना बढेको हुन सक्ने उहाँको बुझाई छ ।

केही दिन अघि कञ्चनपुरका एक विद्यार्थीले मर्नुका कारण भन्दै आफ्ना एक जना शिक्षकको नाम सुसाइड नोटमा लेखेका पाइएपछि ति शिक्षकलाई पक्राउ गरेर अहिले कारबाहीको प्रक्रिया सुरु भएको छ ।

कानुन सबैलाई समान हुने भन्दै सुसाइड नोटमा नाम उल्लेख भएकै आधारमा कारबाहीको भागेदार बनाइएका शिक्षकलाई जस्तै अख्तियारका प्रमुखलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग सामाजिक सञ्जालमार्फत उठिरहेको छ ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने यो विषयमा प्रतिक्रिया दिन मानेन् । मुद्दा परेका व्यक्तिहरुले धमाधम आत्महत्या गरिरहेको विषयबारे अहिले केही बोल्न नमिल्ने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

अख्तियारले मुद्दा चलाउदैमा दोषी ठहर भैहाल्ने होइन । तर सामाजिक प्रतिष्ठा उदांगो भएपछि मुद्दा परेका व्यक्तिहरु तनावमा परेर आत्महत्या नजिक पुग्ने गरेका हुन्छन् ।

यस्ता व्यक्तिहरुका लागि अब सरकारीस्तरबाटै मनो सामाजिक परामर्षको व्यवस्था गरिनुपर्ने मनोविद पौडेलको सुझाव छ ।

तर राज्य पक्षले भने यसमा खासै ध्यान दिएको छैन । सत्तारुढ दलका सांसदहरु उल्टै दिनमा कम्तिमा १० जना भ्रष्टाचारी मरेको सुन्न पाइयोस् भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्छन् ।

केही दिन अघि सत्तारुढ नेकपाका सांसद झपट रावलले दिनमा १० जना भ्रष्टाचारी मरेको सुन्न पाइए मात्रै मुलुक विकासको पथमा हिँड्न सक्ने अभिव्यक्ति दिनुभएको थियो ।

नेपालमा मृत्युदण्डको कानुन छैन । त्यसैले अनुसन्धानको दायरामा परेका व्यक्तिहरुलाई मृत्युको मुखमा पु¥याउन बाध्य पारिनु पनि अपराध नै हो ।

अपराधमा मुछिएका व्यक्तिहरु अदालतबाट दोषी प्रमाणित नभएसम्म निर्दाेष नै हुन्छन् । त्यसैले सामाजिक प्रतिष्ठा गुमेकै आधारमा धमाधम आत्महत्या भइरहेको हो भने यसलाई रोक्न राज्य गम्भीर बन्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार