radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

कांग्रेस सांसदको गम्भीर आरोपः सिंहदरबारका जनप्रतिनिधिले निर्मला पन्तको घटना घटाए

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६


काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई राजनीतिक रुप दिएको भन्दै आलोचना भइरहँदा यो विषयलाइ लिएर आज पनि सदनमा जुहारी चल्यो ।

प्रमुख विपक्षी कांग्रेसले यो घटनामा सिंहदरबारका श्रीपेचबिनाका जनप्रतिनिधिको संलग्नता रहेको आरोप लगाएपछि सांसदहरुबीच जुहारी चलेको हो ।

कांग्रेसका सांसद देबेन्द्रराज कँडेलले ‘निर्मला पन्तको जस्तै घटना यसअघि पनि थिए, आज पनि छ र भोलि पनि केही समय रहन्छ’ भन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । गत साउन ७ गते गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको जस्तै घटना अझै केही समय रहने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिएको २२ दिनपछि कांग्रेसले आज प्रतिनिधिसभामा त्यसको प्रतिवाद ग¥यो । संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद देबेन्द्र राज कँडेलले गृहमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउदै माफी माग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिले निर्मला पन्तको घटना घटाएको गम्भीर आरोप पनि लगाउनुभयो ।

कांग्रेस सांसद कँडेलले सदनबाटै यस्तो आरोप लगाएपछि सत्तारुढ नेकपाका सांसद शान्ता चौधरीले आपत्ति प्रकट गर्नुभयो । उहाँले सिंहदरबारका प्रतिनिधिले निर्मला पन्त घटना घटाएको सम्मको आरोप संसदभित्रै लगाउनु अत्यन्तै आपत्तिजनक रहेको बताउनुभयो ।

नेकपा सचेतक समेत रहेकी चौधरीले त्यस्तो पनि भन्न मिल्छ त्यत्तिको मान्छे ले सभामुख महोदय भन्दै सांसद कँडेलको भनाई रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभयो ।

तर कांग्रेस सांसद मिन विश्वकर्माले चौधरीको भनाईको प्रतिवाद गर्नुभयो । उहाँले एउटा सांसद बोलिरहँदा अर्काे सांसदले जवाफ दिने कुरा संसदीय नियमावदी विपरीत रहेको भन्दै सभामुखको ध्यानाषर्ण गराउनुभयो ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको १३ महिना बित्नै थालेको छ । यो जघन्य घटनाका अपराधी हालसम्म पत्ता लाग्न सकेको छैन तर घटनाको चर्चा भने सेलाएको छैन ।

निर्मलाका हत्यारा पक्राउ नपरेको विषयमा आजभोलि पनि कहिले सडकमा आन्दोलन चर्कन्छ भने कहिले सदनमा बहस हुन्छ । कहिले मिडियामा समाचार छाउछ भने कहिले सामाजिक सञ्जालमा उपद्रो मच्चिन्छ ।

तर हत्यारा पत्ता नलाग्दा मृतक निर्मला पन्तको परिवार विक्षिप्त छ । त्यसैले यो विषयलाई राजनीतिकरण गर्नुभन्दा पनि हत्यारा पत्ता लगाउनतर्फ ध्यान दिए निर्मला पन्तको आत्माले शान्ति पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार