radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

पत्रकार पुडासैनीको आत्महत्याअघिको भिडियो बयान सार्वजनिक, रवि लामिछानेले मर्न बाध्य पारेको आरोप

  • radionrn
  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६


दुई साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीले मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ ।

आफ्नै मोबाइलबाट आफै खिचेको जस्तो देखिने भिडियोमा पुडासैनीले आफूलाई चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाले मर्न बाध्य बनाएको गम्भीर आरोप लगाएका छन् ।

सार्वजनिक भएको भिडियोमा सालिकरामले न्यूज २४ टेलिभिजनमा कार्यरत रवि लामिछाने, युवराज कँडेल र एक युवतिले मर्न बाध्य पारेको बताएका छन् । उनले कानुनी व्यवस्था भए यी तिनैजनालाई फासीको सजाय भए मात्रै आफूलाई शान्ति मिल्ने बताएका छन् ।

भिडियोमा सालिकरामले रवि लामिछानेको वास्तविक अनुहार सामाजमा सार्वजनिक हुन अझै केही समय लाग्न सक्ने बताएका छन् । उनले रविलाई भ्रष्टाचारीको उपमा दिएका छन् । वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट रविले करोडौँ रकम असुल गर्ने तर रातदिन काम लगाएर आफूलाई थोरै मात्र तलव दिने गरेको बेदना पनि सालिकरामले मृत्युअघि रेकड गरेको भिडियोमा पोखेका छन् ।

सालिकराम पुडासैनीले रवि लामिछानेसहित केही व्यक्तिका कारण मर्न बाध्य भएको आरोप लगाएको भिडियो सार्वजनिक भएपछि रविले भने उक्त आरोप अस्वीकार गरेका छन् ।

भिडियो सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै रविले आरोप प्रमाणित होस् र हदैसम्मको सजाय होस् लेखेका छन् ।

आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होेस् हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो सालिकरामलाई ठुलो भ्रम परेछ’ रविले आफ्नो फेसबुकमा लेखेका छन् । तर समाचार तयार पार्दासम्म रविले थप जानकारी दिएका छैनन् । नेपाली रेडियो नेटवर्कसँगको टेलिफोन सम्पर्कमा रविले व्यस्तताका कारण यस विषयमा अहिले आफूले प्रतिक्रिया दिन नसक्ने बताउनुभयो ।

यसअघि सालिकरामले आत्महत्या गरेकै दिन प्रस्तोता रवि लामिछानेले आफ्नो कार्यक्रम सिधा कुरा जनतासँगमा सालिकरामले न्युज २को साथ नछोडेको भए यस्तो हुने थिएन कि भन्दै घटनाको वास्तविक कारण खोजेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन नेपालमा लागु भयसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यसरी दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

तर वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी भने आत्महत्या गर्नुअघि आरोप लगाएकै भरमा कसैलाई अभियुक्त बनाउन नमिल्ने बताउनुहुन्छ । मर्नेबेला मानिसले सत्य बोल्न भन्ने कानुनले अनुमान गर्ने भए पनि आरोप लगाएकै भरमा कसैलाई दोषी प्रमाणित गर्न नमिल्ने उहाँको तर्क छ ।

एक वर्षअघि नै जारी भएको मुलुकी अपराध संहिताले आत्महत्या गर्न दुरुत्साहन गर्ने प्रवृत्तिलाई रोके पनि आजसम्म यसअन्तर्गत कसैलाई सजायँको भागी भने बनाइएको छैन । सम्भवतः पत्रकार पुडासैनी आत्महत्याको विषय कानुन कार्यान्वयन निकायका लागि पहिलो मुद्दा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार