radio icon

Live Radio

पत्रकार सालिकराम आत्महत्या प्रकरण, रवि लामिछानेसहित तीन जना पक्राउ

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६


काठमाडौँ – पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित टेलिभिजन प्रस्तोता रवि लामाछानेसहित तीनजना पक्राउ परेका छन् ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा दोषी देखाएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्कीलाई आज दिउँसो पक्राउ गरिएको हो भने लामिछाने र कँडेललाई अबेर साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई टेलिभिजनकै कार्यालयबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेललेलजानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने, कँडेल र कार्कीलाई पक्राउ गरेको हो ।
यसअघि बुधबार पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडिओ सार्वजनिक भएको थियो । उक्त भिडिओमा पुडासैनीले आफूलाई तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका छन् ।

न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र नर्ससमेत रहेकी कार्कीका कारण आफूले आत्महत्या गरेको पत्रकार पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियो बयानमा उल्लेख गरेका छन् । पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

पूर्वसहकर्मीले आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएपछि पत्रकार लामिछानेले घटनाको छानबिनमा सघाउने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको थियो । प्रहरीले पक्राउ गर्नुअघि नेपाली रेडियो नेटवर्कको टेलिफोन सम्पर्कमा आएका रवि लामिछानेले अनुसन्धानमा रहेको विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताउनुभएको थियो ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा रवि लामिछानेले आफूलाई युवति लगाएर मर्न बाध्य पारेको आरोप लगाएका छन् । तर यो भिडियो शंकास्पद रहेको भन्दै सामाजिक सञ्जालमा मानिसहरु विभक्त भएका छन् ।

केहीले रवि लामिछानेलाई फसाउन षड्यन्त्र रचिएको बताइरहेका छन् भने केही मृतक सालिकरामको पक्षमा उभिएका छन् । जे भए पनि यो गम्भीर घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार