radio icon

Live Radio

सल्बलाए राजावादीहरु, गणतन्त्रवादीहरुको आ-आफ्नै झगडा

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६


सरकारको क्रियाकलापको चर्को आलोचना हुन थालेपछि राजतन्त्रवादीहरुको सक्रियता बढ्न थालेको छ । उनीहरुले सामाजिक संजाल, संचार माध्यम र विभिन्न सार्वजनिक कार्यक्रमहरु मार्फत राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा खरो अभिव्यक्ति दिनेक्रम बढेकोछ ।

राजावादीहरुले विभिन्न सार्वजनिक कार्यक्रमहरुको आयोजना पनि धेरै गर्न थालेका छन् । यसैक्रममा हिन्दु युवा संयोजन अभियान नेपालको बैठक बस्न लागेको छ । उनीहरुलाई हिन्दुराष्ट्रको पक्षमा अभियान चलाउने बताएका छन् ।त्यसैगरी वीर गोर्खाली नामक संस्थाले राजसंस्था र हिन्दु अधिराज्य बिषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

त्यसैगरी राप्रपाका विभिन्न घटकहरुले पनि आफ्ना गतिविधिहरु बढाएका छन् । राजतन्त्रको पक्षमा खुलेर बोल्न नसक्नेहरु पनि पछिल्लो समयमा राजतन्त्रको पक्षमा वकालत गर्न थालेका छन् ।

कतिपयले भने आवरणमा हिन्दु राष्ट्र र भ्रष्टाचार विरोधी अभियानका नाममा भित्रि रुपमा राजसंस्थाको पक्षमा वातावरण बनाउने प्रयास गर्न लागेका छन् ।

नेपालका लागि नेपाली अभियान मार्फत् विभिन्न कार्यक्रम गर्दै आएका डा सुरेन्द्र भण्डारी, अभिवक्ता बालकृष्ण न्यौपाने, युवा अभियान्ता ज्ञानेन्द्र शाहीलगायतले अप्रत्यक्ष रुपमा राजतन्त्रकै लागि वातावरण बनाउन लागि परेको धेरैले दावी गरेका छन् । त्यसैगरी राजतन्त्रकालमा उच्च सैन्य जिम्मेबारीमा रहेका अवकास प्राप्त सैन्य अधिकारीहरु पनि भ्रष्टाचारको विपक्षमा र हिन्दु राष्ट्र तथा राजतन्त्रको पक्षमा सक्रिय भएका छन् ।

राजतन्त्रवादीहरु सल्बलाईरहेका बेला पुर्वराजा ज्ञानेन्द्र शाह भने केही दिन अघिदेखि लामो बसाईका लागि थाइल्याण्ड जानु भएको छ । उहाँको त्यहाँको बसाईलाई शंकास्प्रद तरिकाले हेरिएको छ । राजतन्त्रवादीहरु सक्रिय भएर एकजुट हुदै गरेको बेला गणतन्त्रवादीहरु भने एक जुट हुनसकिरहेका छैनन् ।

गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको नेपाली काँग्रेस कमजोर अवस्थामा छ भने तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा आन्तरिक भागबण्डा र सत्तामा भुलेको छ । त्यसैगरी अन्य दलहरु पनि प्रभावशाली भूमिका खेल्न सक्ने अवस्थामा नरहेकाले गणतन्त्रवादी आम नागरिकहरुमा चिन्ता र आशंका बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार