radio icon

Live Radio

एकता महाधिवेशनपछि नेकपाबाट पूर्व माओवादीहरु खेदिन्छन्ः विश्लेषक

  • radionrn
  • प्रकाशित मिति : शनिबार, साउन ३२, २०७६


स्कुल विभागको नेतृत्वका लागि पूर्व एमाले र पूर्व माओवादीबीच सत्तारुढ नेकपाभित्र प्रतिष्ठाको लडाइँ लामै समय चल्यो । अन्ततः पार्टीका दुई अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठलाई व्याक गरेर पूर्व एमाले नेता ईश्वर पोखरेललाई स्कुल विभाग दिन सहमत भए ।

शुक्रबारको सचिवालय बैठकमार्फत विभिन्न संगठन विभागको नेतृत्व टुंगो लगाइयो लामो कसरतपछि । सोही बैठकमार्फत प्रभावशाली नेता वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउन सिफारिस गरियो भने माधव कुमार नेपाललाई हटाएर झलनाथ खनाललाई पार्टीको दोस्रो बरियताको नेता बनाउने प्रस्तावमाथि पनि छलफल भयो ।

यति भएपछि पार्टीभित्र पूर्व माओवादी खेमालाई कम र पूर्व एमाले खेमालाई बढी महत्व दिइएको विषय आम रुपमा चर्चा भयो । भलै ओली र दाहाल गरी दुई अध्यक्षको सहमतिमा मात्रै पार्टीभित्रका पछिल्ला सबै निर्णयहरु भइरहेका छन् ।

तर प्रचण्डले शनिबार दिएको एक अभिव्यक्तिले उनी पार्टी एकता प्रक्रियामा सन्तुष्ट नभएको झल्को दिएको छ ।

काठमाडौँमा आयोजित एक सार्वजनिक समारोहमा प्रच्ण्डले चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको प्रष्ट बताउनुभएको छ ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले काठमाडौँमा गरेको अन्तरक्रियामा उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताउनुभयो ।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको थप्नुभयो ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुवै भएको भन्दै उहाँले अहिले केहि गर्न नसके इतिहासले धिकार्ने बताउनुभयो । तर प्रचण्डको यो अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरुले भने छटपटाहटको संज्ञा दिएका छन् ।

विश्लेषक पुरन्जन आचार्यले एमाले पार्टीमा समाहित भएर आफू स्थापित हुन नसक्ने कुरा प्रचण्डले ढिलो गरी बुझेको र आजको अभिव्यक्ति त्यसकै प्रतिक रहेको टिप्पणी गर्नभुयो ।

सत्तारुढ नेकपाभित्रको पूर्व माओवादी खेमाले पार्टीभित्र स्थान पाउने कुरा कल्पना भन्दा पनि बाहिरको विषय भएको आचार्यको दाबी छ ।

उहाँले झापा विद्रोहबाट उदायको पार्टीमा झापा बाहेकका व्यक्तिहरुलाइ नै निषेध गरिने गरेको बताउनुभयो । आगामी महाधिवेशनपछि पूर्व माओवादी खेमा तल्लोतहबाटै पार्टीबाट खेदिने दाबी पनि उहाँका छ ।

जनयुद्ध हाँकेका प्रचण्डले एमालेमा समाहित भएर भूमिकाको खोजी गर्नु नै गलत भएको उहाँको टिप्पणी छ ।

विश्लेषक र आलोचकले जे जस्तो दाबी गरेपनि पार्टी एकतालाई सुदृढ पारेरै छोड्ने दाबी प्रचण्डले आफ्ना हरेक भाषणमा गरिरहेका हुन्छन् ।

तर बेला बखत उहाँकै अभिव्यक्तिहरुमा पार्टी एकताप्रतिको बितृष्णा झल्कने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार