radio icon

Live Radio

प्रतिनिधि सभामा आज विभिन्न विधेयक र समितिहरुको प्रतिवेदन पेश हुने

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक आज विभिन्न समितिका प्रतिवेदनहरु पेश हुने भएका छन् ।

विहान ११ बजेपछि बस्ने बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन र “सम्वत् २०७६ असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन पेश गर्नुहुने भएको छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले “प्रमाण (दोस्रो संशोधन) विधेयक, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक र “बिउ बिजन (दोस्रो संशोधन) विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले “राष्ट्रिय खेलकुद विकास विधेयक, खानेपानी मन्त्री विना मगरले “खानेपानी तथा सरसफाइ विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्री पद्मा कुमारी अर्यालले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भुमि सम्बन्धी (आठौ संशोधन) विधेयक, २०७५ माथि छलफल गर्न र पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार