radio icon

Live Radio

ओलीले भने ‘प्रधानमन्त्री मै हुने हो’, विश्लेषक भन्छन् ‘प्रचण्ड एक्ला अध्यक्ष पनि हुँदैनन्’

  • radionrn
  • प्रकाशित मिति : आइतवार, भदौ १, २०७६


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहने बताउनुभएको छ । आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै ओलीले आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने संकेत दिनुभयो।

पार्टी एकताका बेला प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमतिमा ओली र दाहालले हस्ताक्षर गर्नुभएको छ । तर आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू पदको लोभी नभएको तर अर्काे निर्वाचनसम्म भने प्रधानमन्त्री बनिरहने संकेत दिनुभयो ।

आगामी निर्वाचनपछि आफूलाई पदमा रहन लालच नभएको र त्यतिन्जेल धैर्य गर्न आग्रह गरेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अब पालना नगर्ने अडान व्यक्त गरेको रुपमा बुझिएको छ ।

प्रचण्ड अहिले पार्टी नेतृत्वमा रहे पनि दोस्रो दर्जाको अध्यक्षको भूमिका निर्वाह गरिरहेको पाइन्छ किनभने हरेक बैठकको अध्यक्षता प्रधानमन्त्री समेत रहेका ओली आफैले गरिरहेका हुन्छन् । यसअघि पनि सहमति पालना नहुने संसयमा रहेका प्रचण्डले त्यसो भएमा कोही नटिक्ने सार्वजनिक चेतावनी दिनुभएको थियो ।

उहाँले जे सहमति भएको थियो त्यो इमान्दारीका साथ पालना नगरेर दायाँबायाँ गर्न खोजे कोही नटिक्ने चेतावनी दिनुभएको थियो ।

प्रचण्डको यो अभिव्यक्तिपछि ओली र दाहालबीच खटपट भएको खबर समेत बाहिर आएको थयो । त्यसपछि दुई नेताबीच पटक पटक छुट्टाछुट्टै छलफलहरु भए अनि प्रचण्डले बेलाबखत ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री बन्न दिन आफू तयार रहेको तर पार्टीमा आफ्नो पनि भूमिका स्पष्ट हुनुपर्ने बताउन थाल्नुभयो ।

यसको अर्थ आफूलाई पार्टीको अध्यक्ष बनाए ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न दिने पक्षमा प्रचण्ड अहिले पनि छन् र पछिल्लो पटक ओली दाहालबीच त्यो समझदारी बनिसकेको छ ।

तर राजनीतिक विश्लेषक पुरन्जन आचार्य भने त्यसको सम्भावना कम देख्नुहुन्छ । फरक पार्टीको इतिहास तत्कालीन एमालेमा समाहित गरिरहेका प्रचण्डका लागि त्यो बाटो सजिलै प्राप्त नहुने उहाँको तर्क छ ।

यता अर्काे चुनावसम्म आफू नै प्रधानमन्त्री बन्ने ओलीको भनाईप्रति प्रमुख विपक्षी कांग्रेसले कटाक्ष गरेको छ । कांग्रेस कांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको भनाईप्रति सही थाप्दै अहिलेका सरकारले यस्तै काम गरिरहे अर्काे चुनावपछि कांग्रेसको बाहेक अरु कसको सरकार आउँछ र प्रधानमन्त्री ज्यू भन्दै प्र्रश्न गर्नुभयो ।

अहिलेको सरकारलाई जनताले पाँच वर्षको स्थिर सरकारका रुपमा म्यान्डेट दिएका हुन् । यसअघिको जस्तो पटक पटक सरकार ढाल्ने र फेरबदल गर्ने खेल अहिले सम्भव छैन ।

पूरा अवधि काम गर्न पाइएन त्यसैले विकास गर्न सकिएन भन्ने छुट ओली सरकारलाई छैन । त्यसैले विकासको समृद्धिको यात्राको नारा बोकेको सरकारले व्यवहारमा पपिन त्यही शैली पदर्शन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार