radio icon

Live Radio

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पद त्याग्नुपर्ने नेता माधव नेपालको लिखित प्रस्ताव दर्ता

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६


काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराउनुभएको छ ।

सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट आज दर्ता गराउनुभएको हो । जसमा ‘एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागू गरियोस्’ भनिएको छ ।

वरिष्ठता एवम् योग्यतालाई वेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई खातैखात जिम्मेवारी र कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित नहुने नेता नेपालले उल्लेख गर्नुभएको छ । उहाँले शुक्रबारको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गर्नुभएको थियो तर उक्त प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गर्नुभएको थियो ।

अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो ओलीको इच्छामा भरपर्ने भन्दै निर्णय गर्न नहुने बताउनुभएको थियो । नेकपामा कुनै समय ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने मुद्दा बामदेव गौतमले पपिन उठाउनुभएको थियो ।

अर्का अध्यक्ष प्रचण्डले पनि आलोपालो प्रधानमन्त्री हुने सहमति भएको स्मरण गर्दै आफूलाई एकल अध्यक्ष दिए ओली पाँच वर्ष प्रधानमन्त्री हुनसक्ने बताउनुभको थियो । तर अहिले गौतम र प्रचण्ड दुबै ओलीतिर लागेका छन् भने नेता नेपाल एक्लिएका छन् ।

ओली निकट भएका गौतम संगठन विभाग प्रमुख र किसान महासंघको इन्चार्ज भइसकेका छन् भने उपाध्यक्ष बनाउने तयारी छ । वरिष्ठ नेता नेपालले पार्टीको विधानले तोकेको कमिटीका बैठकहरु नबसेको र विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा पार्टी नचलेको भन्दै असहमति दर्ज गराउनुभएको छ ।

अमुख व्यक्तिलाई छनौटको गलत चाहना राखेर अहिलेसम्म पोलिटब्यूरो गठन नगरेको भन्दै उहाँले विधानको ब्यवस्थालाई लागु गर्ने कि नगर्ने भनेर प्रश्न गर्नुभएको छ ।

साथै सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम नगरेको भन्दै नेता नेपालले सरकारको समिक्षाका लागि स्थायी कमिटीको बैठक बोलाउने निर्णय कार्यान्वयन गर्न माग समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार