radio icon

Live Radio

माधव नेपालको ‘नोट अफ डिसेन्ट’मा ईश्वर पोखरलेको काउन्टर जवाफः ‘माना पाथी जोखे जस्तो सन्तुलन हुँदैन’

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६


काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराउनुभएको छ ।

सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट आज दर्ता गराउनुभएको हो । जसमा पार्टीको विधान अनुसार ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू गरियोस्’ भनिएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

वरिष्ठता एवम् योग्यतालाई वेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई खातैखात जिम्मेवारी र कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित नहुने नेता नेपालले दर्ता गराएको असहमतिपत्रमा उल्लेख छ ।

यसका साथै उहाँले साविकको नेकपा एमालेमा उपाध्यक्ष रहेका नेताहरुलाई सचिवालयमा ल्याउनुपर्ने माग पनि जोडदार रुपमा उठाउनुभएको छ । वरिष्ठ नेता नेपालले दर्ता गराएको साँतबुँदे असहमतिपत्र शतप्रतिशत जायज भएको नेतृ शाक्यको दाबी छ ।

तात्कालिन एमोलका तीन जना उपाध्यक्ष र एक उपमहासचिवलाई सचिवालयमा ल्याउनुपर्ने माग नेता नेपालले उठाउनुभएको हो । तर यता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले माना पाथी जोखे जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तराजुमा जोख्न नमिल्ने बताउनुभयो ।

शुक्रबारको सचिवालय बैठकमा नेता नेपालले अध्यक्ष पद छाड्न गरेको आग्रह प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेको बताइन्छ । यसअघि ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने मुद्दा बामदेव गौतमले पनि उठाउनुभएको थियो ।

अर्का अध्यक्ष प्रचण्डले पनि आलोपालो प्रधानमन्त्री हुने सहमति भएको स्मरण गर्दै आफूलाई एकल अध्यक्ष दिए ओली पाँच वर्ष प्रधानमन्त्री हुनसक्ने बताइरहनुभएको छ । उपाध्यक्ष पाउने भएपछि वामदेव पनि चुप लागेका बेला नेता नेपाल एक्लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार