radio icon

Live Radio

नेपाली जहाजलाई इयूको कालोसूची हटाउन पहल

  • radionrn
  • प्रकाशित मिति : शनिबार, भदौ ७, २०७६


युरोपका आकाशमा नेपाली जहाजलाई उडान प्रतिबन्ध गरिएको विषयमा नेपाली पक्षले जोडदारका साथ कुरा उठाएको छ ।

अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६ औँ सम्मेलनका अवसरमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले राखेको कालोसूचीबाट हटाउनेबारे दुईपक्षीय छलफल गरेको हो ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले इयूको कालोसूचि हटाउने सन्दर्भमा इयूका पदाधिकारीबीच दुईपक्षीय कुराकानी भएको र त्यहाँ नेपालले आफ्ना विषयवस्तु स्पष्ट ढङ्गले राखेको जानकारी दिनुभएको छ ।

इयूले उडान सुरक्षा मापदण्ड परिपालना नगरेको भन्दै सन् २०१३ देखि नेपाली हवाई जहाजलाई युरोप प्रवेशमा रोक लगाउँदै आएको छ । उसले प्राधिकरणलाई कानूनीरूपमा नियामक र सेवाप्रदायक छुट्टाछुट्टै निकायको रूपमा स्थापित गर्न भनेको छ । कालोसूचिबाट नेपाललाई हटाउने सन्दर्भमा इयु र नेपाली उड्डयन अधिकारीबिच गत जनवरी १९ मा दुईपक्षीय वार्ता समेत भएको थियो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन ।

आइकाओले भने सुरक्षा परीक्षणमा नेपालले आधारभूत विश्वव्यापीस्तर पार गरेको भन्दै सन् २०१७ मै नेपाली वायु सेवालाई राखेको गम्भीर सुरक्षा चासोको सूचिबाट हटाइसकेको छ । आइकाओ एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको सम्मेलन सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

पाँच दिनसम्म भएको सम्मेलनमा उडान सुरक्षा, हवाई सुरक्षा सुविधा, एयर नेभिगेसन सेवा, हवाई वातावरणसम्बन्धी विषय, प्राविधिक सहयोग, क्षेत्रीय सहकार्यलगायत विषयमा छलफल भएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । यो सम्मेलन अर्को वर्ष बङगलादेशमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार